नेकपाको आकस्मिक सचिवालय बैठक बालुवाटारमा शुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आकस्मिक रुपमा बोलाइएको सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय अगाडिदेखि मात्रै सचिवालय बैठक शुरु भएको हो । सोमबारको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारुढ दल नेकपाको सचिवालय बैठक बसेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अपराह्न ५ः३० बजे बोलाइएको सचिवालय बैठक आधा घण्टा ढिलो गरी ६ बजेतिर शुरु भएको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीको ठाडो प्रस्तावमा राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो बनाउन अध्यादेश ल्याउने निर्णय गरेको थियो ।



मन्त्रिपरिषद बैठकले पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुर्‍याए पुग्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो । हाल राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्था छ ।

मन्त्रिपरिषद बैठकको उक्त निर्णयपछि नेकपामा हलचल मच्चिएको छ । प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न अध्यादेश ल्याउन लागेको भन्दै नेकपाकै केही नेताहरुले आश्चर्य व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार