प्रधानमन्त्रीले पार्टी फुटाउने तयारी स्वरूप अध्यादेश ल्याएः नेकपा नेता गजुरेल

नेकपा नेता हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने तयारी स्वरूप अध्यादेश ल्याएको बताएका छन् । गजुरलले भने, ‘पार्टी फुटाउने तयारी हो । त्यसैका लागि ल्याइएको हो । यसमा द्विविधा हुनुपर्ने कुनै कारण छैन ।’ अन्यथा, अहिले अध्यादेश ल्याउनुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ । ‘हैन भने अहिले अध्यादेश ल्याउनुपर्ने कुनै कारण छैन,’ उनले थपे ।

एक अनलाइनसँगकाे कुराकानीमा उनले २०७५ जेठ ३ गते एकता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद पछिल्लो समय उत्कर्षमै रहेको बताए । दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच भेटघाटसमेत पातलिएको थियो । विशेषतः प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति पूर्वमाओवादी केन्द्रको विमति रहँदै आएको उनले बताए ।



‘सबैले देखेकै छ नि, विवाद उत्कर्षमै थियो । लिलामणि पौडेललाई फिर्ता बोलाएको कारण के हो ? उनलाई फिर्ता बोलाउनु विवाद उत्कर्षमा पुगेको सङ्केत होइन ?,’ उनले प्रश्न गरे । चीनलागि पूर्वराजदूत लिलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो । उनको ठाउँमा महेन्द्र पाण्डे राजदूत नियुक्त भइसकेका छन् ।

‘लिलामणि पौडेललाई फिर्ता बोलाउनुपर्ने कुनै कारण थिएन । उनले राम्रो काम गरिरहेका थिए । तर प्रधानमन्त्रीले फिर्ता बोलाए,’ उनले भने, ‘लिलामणिले राष्ट्रपति, प्रधानमन्त्रीको भ्रमण गराए । दुई देशबीच पारवहन सम्झौता भयो । चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल आउने वातावरण मिलाए । कुनै राजदूतले गर्न सकेका थिए ?

प्रधानमन्त्री ओलीले ६ महिना बाँकी हुँदा फिर्ता बोलाएर रिस फेरेको उनको आक्रोश थियो । ‘प्रधानमन्त्रीले अध्यादेश ल्याएर पार्टी फुटाउने तयारी गरिरहेका छन् भनेर हामीलाई हिजै थाहा थियो,’ उनले खुलासा गरे ।

सम्बन्धित समाचार