भारतमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । बुधबार दिउँसोसम्म २० हजार १ सय ७८ जना कोरोना भाइरसबाट संक्रमित बनेको भारतमा ६ सय ४५ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाको जोखिम कम गर्न भारतमा झण्डै एक महिनादेखि लकडाउन जारी छ । तर संक्रमणदर भने तीब्र गतिमा फैलिरहेको छ । भारत जस्तै दक्षिण एशियाली अन्य राष्ट्रमा पनि कोरोनाको संक्रमण दर बढ्दै गएको छ ।
पाकिस्तानमा हालसम्म ९ हजार ७ सय ४९ जनामा कोरोनाको संक्रमण देखिएको छ भने २ सय ९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
यस्तै बंगलादेशमा ३ हजार ७ सय ७२ जना कोरोनाबाट संक्रमित बनेका छन् भने १२० जनाको मृत्यु भएको छ । अर्को दक्षिण एशियाली देश अफगानिस्तानमा १ हजार ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३६ जनाले ज्यान गुमाएका छन् ।
श्रीलंकामा अहिलेसम्म ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ३ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी माल्दिभ्समा ८६, नेपालमा ४२ र भुटानमा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।