चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा दीपावली, नेपाल संवत्, छठलगायत पर्वको समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता एवं समसामयिक विषयवस्तुका सम्बन्धमा शुक्रबार प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले चाडपर्वको समयमा हुनसक्ने लुटपाट, चोरीलगायत आपराधिक क्रियाकलापका घटनालाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन हुनुपर्नेमा जोड दिनुभयो ।

विशेषगरी चाडपर्वहरूको समयमा पटकालगायत विष्फोटक पदार्थको कारोबार नियन्त्रण गर्नुका साथै सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक केसीले आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवं सरोकार भएका सबै पक्षसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले आआफ्नो जिम्मेवार क्षेत्रको अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटिलाई समयमै सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिको साथै सातवटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति थियो ।(रासस)

सम्बन्धित समाचार