नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कार्तिक।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन राजदूतले शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र पेश गर्नेमा नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला, लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत विथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगुएल रहनुभएको छ ।
भारतका राजदूत दलेला आवासीय राजदूत हुनुहुन्छ भने लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत जायाभोङ र पानामाका राजदूत मिगुएल गैरआवासीय राजदूत हुनुहुन्छ ।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रसिला सहितको बग्गीमा सवारी गराइएको राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।(रासस)

