अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रीनकार्ड र आप्रवासमा रोक लगाउनेसम्बन्धी कार्यकारी निर्णयमा हस्ताक्षर गरेका छन् । पछिल्लो कदमसँगै अमेरिका प्रवेशका लागि बाटो खुलेकोमा ढुक्क भएका केही मानिसहरुको ग्रीनकार्ड रद्द हुने भएको छ । अमेरिकी नागरिकको रोजगारी सुरक्षित गर्न यो कदम चालिएको ट्रम्पले उल्लेख गरेका छन् । आलोचकहरुले ट्रम्पको यो कदमलाई कोरोना महामारीका बेला उनले लिएको कट्टरपन्थी आप्रवासन नीति कार्यान्वयन गर्ने प्रयास भएको संज्ञा दिएका छन् । ट्रम्पले राष्ट्रपति चुनिनु अघिदेखि नै आप्रवासन नीति र आप्रवासीहरुमाथि निशाना साँध्दै आएका छन् । कोरोना भाइरस संक्रमण अवस्थाबारे जानकारी दिन ह्वाइटहाउसमा बुधबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, यो कदमले अमेरिकी नागरिकलाई रोजगारी सुनिश्चित गराउनेछ, हाम्रो अर्थतन्त्र खुल्नासाथ पहिलो चरणमा अमेरिकीहरुले नै रोजगारी पाउनेछन् ।
कसको ग्रीनकार्ड खोसिनेछ ?
अमेरिका रहेका आफन्तबाट प्रायोजन ९स्पोन्सर० सुनिश्चित गरेर अमेरिका जान खोजिरहेकाहरुको ग्रीनकार्ड पछिल्लो निर्णयसँगै खोसिने सम्भावना उच्च रहेको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले यस्तो आप्रवासलाई साङ्ले आप्रवास (चेन माइग्रेसन) भन्ने गरेका छन् । तर यसले अमेरिकी नागरिकका वैवाहिक सदस्य र २१ वर्षमुनिका व्यक्तिहरुलाई अमेरिका आउन समस्या नपर्ने अपेक्षा गरिएको छ । पछिल्लो कार्यकारी निर्णयसँगै डाइभर्सिटी भिसा लोटरी (डिभी लोट्री) पनि बन्द हुनेछ । डिभी लोट्र्रीमार्फत वर्षेनी ५० हजार भन्दा बढी मानिसहरुलाई अमेरिकाले ग्रीनकार्ड दिने गरेको छ ।
कस्तो असर पर्छ ?
कोरोना महामारी फैलिएलगत्तै अमेरिकाले प्रवेशाज्ञा दिने प्रकृया केही साताका लागि स्थगित गरेको थियो । वासिङ्गटनस्थित आप्रवासन नीति संस्थानका अनुसार ट्रम्पको पछिल्लो नीतिका कारण प्रत्येक महिना २० हजार हाराहारीमा ग्रीनकार्डका लागि आवेदन दिनेहरु रोकिइने भएका छन् । आप्रवासन अभियन्ताहरुले पछिल्लो कदमका कारण अमेरिकाभर रहेका कामदार र उनीहरुको परिवार वास्तविक पीडामा फस्ने देखिएको बताएका छन् । कोरोना भाइरस फैलिएपछि अहिलेसम्म दुई करोडभन्दा बढी अमेरिकीहरुले रोजगारी गुमाएका छन् । उनीहरुको रोजगारी फर्काउन आफू कर्तव्य परायण रहेको ट्रम्पले बताउने गरेका थिए । पछिल्लो महामारीका कारण अमेरिकामा अहिलेसम्म ५२ हजार भन्दा धेरै मानिसको ज्यान गएको छ भने आठ लाख ४० हजारभन्दा धेरै संक्रमित भेटिइसकेका छन् ।
President @realDonaldTrump is suspending new immigrant visas to put American communities and workers FIRST as we move toward safely reopening the economy. pic.twitter.com/OkYqOPtN8Y
— The White House 45 Archived (@WhiteHouse45) April 22, 2020