सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण कम गर्न जारी गरिएको लकडाउनको आदेशलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको हो ।
नेपालमा पनि कोरोनाका संक्रमित बढ्ने क्रम जारी रहेकोले सरकारले लकडाउन जारी राख्ने निष्कर्षमा पुगेको हो । आइतबार ३ संक्रमित फेला परेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।
संक्रमितमध्ये १६ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । विश्वभर कोरोनाको कारण २ लाख ३ हजार ८ सय ८ जनाको ज्यान गैसकेको छ ।