नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विकसित राजनीतिक घटनाक्रमले प्रधानमन्त्री केपी ओलीलाई पार्टीभित्रै रक्षात्मक बनाइदिएको छ । पार्टीमा छलफल नगरी राजनीतिक दल विभाजन र न्यायपरिषदसम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा ओलीविरूद्ध मोर्चाबन्दी भएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल मिलेपछि पार्टीका सम्पूर्ण कमिटीहरूमा अल्पमतमा परेका ओलीले सरकार जोगाउन विभिन्न रणनीति बुनिरहेका छन् । ओलीइत्तरका शक्ति भने सरकार सञ्चालनमा पार्टीसँग कुनै छलफल नगरेको भन्दै सचिवालय बैठक बोलाएर उनलाई सरकारबाट फिर्ता बोलाउने योजनामा छन् । यो सबै योजना बुझेरै ओली भने सचिवालय बैठक बोलाउन आनाकानी गर्दै आएका छन् ।
आफू र सरकारविरूद्ध आफ्नै पार्टीभित्र मोर्चाबन्दी भएपछि ओलीले संददीय दलमा आफूसमर्थककै बहुमत पुर्याउन कसरत गरेका थिए । तर जति पहल गर्दा पनि बहुमत जुटाउन १० संसदको अपुग भएपछि ओलीले पुनः माधव नेपाललाई फकाउन सुरू गरेका छन् । उनले माधवलाई आफूसँग मिलेर प्रचण्डलाई एक्ल्याएर देखाउन विभिन्न प्रलोभन देखाएको स्रोतको दाबी छ ।
नेपाललाई नयाँ अफर
प्रधानमन्त्री ओलीले सोमबार नेता नेपालसँग झण्डै २ घण्टा भेटवार्ता गरेका थिए । भेटमा नेपाललाई ओलीले नयाँ अफर गरेको नेकपा स्रोतको दाबी छ । नेता नेपाललाई ओलीले नेकपाको अध्यक्ष नै बनाउने अफर गरेको बताइएको छ । मलाई धोका दिएका प्रचण्डले भोलि तपाईलाई पनि धोका नदेलान् भन्न सकिदैन । त्यसैले तपाई र म मिलौं र प्रचण्डलाई देखाइदिउँ, ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
ओलीले नेपाललाई निर्वाचनसम्म पार्टी अध्यक्ष भएर पार्टी चलाउन र निर्वाचनपछि प्रधानमन्त्री बन्न तयार रहन बताएका थिए । ओलीको नयाँ अफरपछि नेता नेपालले आफूनिकट नेताहरूसँग सल्लाह गरेर निर्णय लिने बताएका थिए । ओली र नेपाल केही लचिलो भएलगत्तै सोमबारै दुबै पक्षधर नेताहरूको बैठक नेपालनिवास कोटेश्वरमा बसेको थियो । वार्तामा ओलीपक्षका ईश्वर पोखरेल, शंकर पोखरेल र विष्णु पौडेल सहभागी थिए भने नेता नेपालपक्षका सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत सहभागी थिए ।
के भयो बैठकमा ?
प्रधानमन्त्री ओली र नेता नेपालबीच भएको पछिल्लो छलफलपछि बसेको उनीहरू समर्थक नेताहरूको छलफलपछि ओली सचिवालय बैठक बोलाउन तयार भएका छन् । स्रोतका अनुसार बधबार बस्ने भनिएको सचिवालय बैठकमा नेता नेपालले ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय नगराउने शर्तमा बैठक बोलाउन ओली तयार भएका हुन् ।
प्रचण्डसँग मिलेर प्रधानमन्त्री बन्ने तयारीमा रहेका नेपाल ओलीको नयाँ अफरमा बहकिएको चर्चा शुरू भएको छ । पछिल्लो समय कहिले ओली त कहिले प्रचण्डको पक्षमा उभिदै आफ्नो स्वार्थ पूर्ति गर्दै आएका नेता नेपालले ओलीसँग मिलेर प्रचण्डलाई नै एक्ल्याएमा प्रचण्डले नेकपा नै फुटाएर कांग्रेससँग मिलेर सरकार गठन गर्ने त हैनन् भन्ने आशंका नेकपाको नेता तथा कार्यकर्तामा व्यप्त छ ।