कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन

कोरोना भाइरसको महामारीलाई लिएर चीन र अमेरिकाको बीचमा विवाद बढ्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपको बयान पछि चीनले अमेरिकालाई उत्तर फर्काएको छ ।

चीनका विदेशमन्त्रालयका प्रवक्ता गेंग शुआंगले मिडियासँग कुराकानी गर्दै अमेरिकाका राजनेताहरु आफ्नो निकम्मापन लुकाउनको लागि झुट बोल्दै गएको बताएका छन् । गेंग शुआंगका अनुसार अमेरिकी राजनेताहरु सही तथ्यलाई नजरअन्दाज गर्दै बारम्बार झुट बोलिरहेको बताएका छन् ।



उनले भने, ‘अमेरिकाका राजनेताहरुले आफ्नो देशमा कोरोनाविरुद्ध लड्न नसकेपछि निकम्मापन लुकाउन र अरुको ध्यान भड्काउन लागि परेको छ,तर तथ्यले अर्कै देखाईरहेको छ । अमेरिका कहिल्यै पनि आफूले गर्न थालेको प्रयासमा सफल हुनेछैन ।’

के भनेका थिए डोनाल्ड ट्रम्पले ?

चीनको यो बयान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि गरेको टिप्पणी पछि मात्र आएको हो । ट्रम्पले ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनमा चीनको सत्यता निकाल्न अनुसन्धान गरिरहेको बताएका थिए ।

साथै उनले चीनले अहिले विश्वमा भएको हानीको जवाफदेही बन्नुपर्ने बताएका थिए । ट्रम्पले कोरोनाको महामारी चीनले नै विश्वमा फैलाएको र त्यसबाट आफू खुशी नरहेको बताएका थिए ।

कोरोना भाइरस चीनले उचित समयमा जानकारी गराएको भए सहजै रोक्न सकिन्थ्यो भन्ने धारण ट्रम्पले राखेका थिए । चीनको विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआंगले अमेरिकी राजनेताहरुले चीनलाई आरोप लगाउँदैमा केहि नहुने बताएका छन् । उनले भने, ‘यस्ता आरोप र प्रत्यारोप महामारी रोकथामका लागि काम आउँदैनन्, अमेरिका भाइरसको विषयलाई लिएर चीनको प्रयासमाथि अस्विकार गर्न सक्दैन, यस्ता आरोपले महामारी रोकथामका लागि सहयोग गर्दैन ।’

अमेरिकाले लगातार चीनको ल्याबबाट नै कोरोना भाइरसको महामारी फैलिएको शंका गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेपछि विवाद चुलिँदै गएको हो । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण सबैभन्दा धेरै क्षति अमेरिकामै भएको छ ।

अमेरिकामा यो समाचार तयार पार्दासम्म ५९ हजार २६६ जनाले ज्यान गुमाएका छन् भने १० लाख ३५ हजार ७६५ जनालाई संक्रमण भएको छ ।

सम्बन्धित समाचार