कोटेश्वरमा प्रचण्ड-नेपालबीच भेटवार्ता, ओलीबिरुद्ध बन्यो यस्तो रणनीति

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरूबीच शुक्रबार साँझ छलफल भएको छ। नेपाल निवास कोटेश्वरमा भएको उक्त छलफलमा शनिबार साँझ बस्ने सचिवालय बैठकमा कसरी प्रस्तुत हुनेबारे रणनीति तय भएको स्रोतको दाबी छ ।

‘छलफलमा प्रधानमन्त्रीले बालुवाटारबाटै गुटबन्दी गर्ने, सांसदहरू हस्ताक्षर गर्ने काम गर्नुभएकाले हामीले पनि के गर्ने भन्नेबारे गम्भीर भएर सोच्नु पर्ने बेला आएको निष्कर्ष निस्किएको छ,’ नेता भीम रावलले भने । उनले भोलि बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावबारे प्रधानमन्त्रीबाट थप प्रष्टता खोजिने बताए ।



‘वामदेव कमरेडलाई प्रधानमन्त्री बनाउने भन्नुभएको छ, उहाँलाई प्रधानमन्त्री बनाउने आधार के-के हुन् भन्नेबारे सचिवालयमा प्रधानमन्त्रीलाई सोध्ने कुरा भएको छ,’ रावलले भने,‘हिजो सचिवालयले वामदेवलाई राष्ट्रिय सभामा मनोनयन गर्न गरेको निर्णय कार्यान्वयन नगर्ने प्रधानमन्त्रीले कसरी उहाँलाई प्रधानमन्त्री बनाउनु होला।’

कोटेश्वर बैठकमा प्रचण्ड-नेपालसँगै उनीहरू पक्षका केही स्थायी समिति सदस्यहरू पनि सहभागी थिए। नेपालसँग छलफल गर्नुअघि प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग पनि छलफल गरेका थिए। पछिल्लो समय नेकपामा राजनीतिक संकट गहिरिँदै गएको छ। प्रचण्ड-नेपाल पक्ष प्रधानमन्त्री ओलीले सरकार छोड्नु पर्ने पक्षमा छन् भने प्रधानमन्त्री ओलीले आफूले सरकार छोड्ने भए वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन्।

सम्बन्धित समाचार