अर्थमन्त्री डा युवराज खतिवडाले विश्वव्यापी महामारीको कारणले आवागमन बन्द हुँदा परेको प्रभावको लेखाजोखा गरिरहेको बताएका छन् । उनले वित्तीय क्षेत्रमा यसको प्रभाव कस्तो हुन्छ भन्ने अध्ययन पनि हुनुपर्ने बताए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले गरेको भिडियो कन्फरेन्समा उनले लकडाउनको पूर्ण पालना गराउने र आर्थिक गतिविधि सामान्य पार्ने कुरा संभव नहुने बताए । ‘अहिले लकडाउन खुकुलो पार्न सक्ने अवस्था छैन, यस्तो अवस्थामा आर्थिक कृयाकलाप चलायमान बनाउने काम भएको छ’, उनले भने ।
मन्त्री खतिवडाले जोखिमको मूल्यांकन गर्दै कदम चाल्ने पनि उल्लेख गरे । ‘आवागनम रोकेर पर्यटन विकास नहुने भएकाले अहिले सबैभन्दा धेरै प्रभाव यही क्षेत्रमा परेको छ, निजी क्षेत्रलाई परेको समस्या बहन गर्ने विषयमा बहस गर्दा सरकारको क्षमता पनि हेर्नुपर्छ, निजी क्षेत्रले धेरै राजस्व तिर्ने अवस्था आउँदा मात्रै सरकारले धेरै राहत दिन सक्ने हो’, खतिवडाले भने ।
मन्त्री खतिवडाले बैंकहरुले पैसा छापेर नबाँड्ने भन्दै बैंकहरुको पनि निक्षेपमाथिको लागत हुने विषय सबैले बुझ्नुपर्ने बताए । ‘निक्षेपकर्तालाई मारेर तरलता व्यवस्थापन कसरी हुन सक्छ र ? उनले भने, ‘केन्द्रीय बैंकले यो छुट र त्यो छुट दिनुपर्योन भन्ने कुरा गर्दा हामीले खोजेका सबल वित्तीय व्यवस्था कसरी होला ?’
छलफलमा नेपाल राष्ट्र बैंकक गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रलाई परेको समस्याका विषयमा केन्द्रीय बैंकले हेरिरहेको बताए । उनले व्यवसाय बन्द हुँदा लकडाउन लम्बिँदै गए यसको असर जटिल हुने र अर्थतन्त्रको खम्बाको रूपमा रहेको रेमिट्यान्स बन्द हुन सक्ने उल्लेख गरे ।