पछिल्लो समय आन्तरिक विवादमा फसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । सचिवालय बस्न अघिल्लो दिन शुक्रबार प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । प्रधामन्त्री ओलीसँगको भेटघाटपछि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसहितको आफ्ना गठबन्धनका स्थायी कमिटीका सदस्यहरूसँग ओलीसँग भएका कुराकानी सविस्तार सुनाएका थिए ।
भेटमा प्रधानमन्त्री केपी ओलीले एकलौटी रूपमा कार्यकारी अध्यक्ष चलाउन आग्रह गर्दै आफूलाई पाँचै वर्ष सरकार चलाउने कार्यकाल दिन आग्रह गरेका बताएका थिए । छलफलमा प्रचण्डले भने– ‘तपाईंले एकलौटी रूपमा कार्यकारी अध्यक्ष चलाउनुस्, मलाई पाँचै वर्ष कार्यकाल प्रधानमन्त्री चलाउन दिनुस् । अहिले राजीनामाको कुरा नगरौं । तपाईं भने अनुसारका मन्त्रीहरू पनि फेरबदल गरौं । नियुक्तिहरू पनि त्यसैअनुसार गर्न तयार छु ।’
प्रचण्डले ओलीसँगको भेटमा किन एकाएक वामदेब गौतमलाई प्रधानमन्त्री बनाउँ भन्नुभयो, कसरी सम्भव छ भन्ने प्रश्न राखेको स्रोतको दाबी छ । जवाफमा ओलीले ‘तपाईंले एकाएक राजीनामा भन्नुभयो, त्यसको प्रतीकात्मक प्रतिक्रियामा मैले वामदेवलाई प्रधानमन्त्री भनेको हुँ । उहाँ हुने आधारै छैन । भए पनि चलाउन सक्नु हुन्न । यसलाई गम्भीर रूपमा नलिनुस्’ भनेको छलफलमा प्रचण्डले बताएका थिए ।
नेता नेपालद्वारा पार्टी अध्यक्ष बन्न अस्वीकार
वरिष्ठ नेता नेपालले पनि पार्टी अध्यक्ष बन्न अस्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीसँगको विहीबारको भेटवार्तामा नेता नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिएर ओलीले पार्टी निर्णयका लागि मार्ग प्रशस्त गर्नुपर्ने अडान दोहोर्याएका थिए । उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्ष बनाउने प्रस्तावले अहिलेको समस्या समाधान नगर्ने भएकाले नेपालले ओलीलाई अध्यक्ष नबने स्पष्ट जवाफ दिएका थिए ।
भेटमा नेता नेपालले प्रधानमन्त्रीले राजीनामा गरेर अहिलेको विवाद समाधान गर्नुको विकल्प नरहेको बताएका थिए । बुधबारको सचिवालय बैठकमा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल तथा नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा गर्नुपर्ने माग राखेका थिए ।
शुक्रबार साँझ बसेको प्रचण्ड नेपाल गठबन्धनको बैठकले आज बस्ने सचिवालयबाट स्थायी कमिटी नटार्न नेताहरूले सुझाव दिएका थिए । भेलामा उपस्थित स्थायी कमिटीका सदस्यहरूले प्रधानमन्त्रीको राजीनामाको विकल्प नरहेकाले सचिवालयबाट स्थायी कमिटीको बैठक मिति तय गर्न दबाब दिएका थिए ।
यता ओलीले पनि आफूनिकट नेताहरूसँग आजको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे निरन्तर परामर्श गरिरहेका छन् । गत बुधबारको बैठकमा आफूले प्रस्ताव गरेको विषयलाई प्रचण्ड–नेपाल गठबन्धनले नस्वीकार्ने भएपछि ओलीले आज मध्यमार्गी प्रस्ताव पेश गर्ने तयारी गरेको स्रोतको दाबी छ ।