अध्यादेश प्रकरणपछि पार्टीभित्रका सबै कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्री केपी ओली नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा एकाएक आन्तरिक समीकरणमा बलियो बनेका छन् । प्रचण्ड–माधव नेपाल गठबन्धनमा रहेका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री तथा सचिवालय सदस्य रामवहादुर थापा बादलको साथले ओली बहुमतमा पुगेका हुन् । यसअघि सचिवालयमा ओली अल्पमतमा थिए ।
सचिवालयमा प्रधानमन्त्री बहुमत पुगेसँगै हाललाई पार्टीभित्र उत्पन्न संकट मोचन भएको छ । अब ओलीको साथमा बामदेव, बादल, ईश्वर पोखरेल र विष्णु पौडेल हुनेछन् । नौ सदस्यीय सचिवालयमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ चारजना अल्पमतमा पुगेका छन् । प्रचण्ड–नेपाल पक्षले स्थायी कमिटी बैठकको माग गर्दै आएको भएपनि ओलीले स्थायी कमिटी बैठक बोलाउन आनाकानी गर्दै आएका छन् । सचिवालयमा बहुमत सदस्यको समर्थन पाएसँगै ओलीले तत्काल स्थायी कमिटी बैठक नबोलाउने भएका छन् ।
प्रधानमन्त्री ओलीले नेकपाका उपाध्यक्ष गौतमलाई तत्काल उपप्रधानमन्त्री बनाउने आश्वासन दिएपछि गौतमले क्याम्प चेन्ज गरेको स्रोतको दाबी छ । स्रोतले दिएको जानकारीअनुसार नेकपाले यसअघि गरेको सिफारिसअनुसार गौतमलाई राष्ट्रियसभामा लैजाने र उपप्रधानमन्त्री तत्कालै बनाउने प्रधानमन्त्रीको प्रस्ताव थियो । गौतम गुट परिवर्तन गर्न तयार भएसँगै प्रचण्डसँग असन्तुष्ट रहँदै आएका गृहमन्त्री थापालाई पनि ओलीले आफ्नो पक्षमा ल्याउन सफल भएका थिए ।