भारतका विभिन्न सहरमा आप्रबासी कामदार तथा मजदुरहरु लकडाउनका कारण अलपत्र परिरहेका छन् ।
थुप्रै कामदारहरु त सयौँ किलोमिटरको यात्रा पैदल हिँडेरै घर फर्किँदै छन् । यस्तैमा विपक्षी पार्टी कांग्रेसले लकडाउनका कारण रोकिएका कामदारहरुको रेल भाडा तिरिदिने घोषणा गरेको छ ।
घर फर्किन नपाएका कामदारहरुको रेल भाडा आफूहरुले तिरिदिने भन्दै कंग्रेस पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कांग्रेस सभापति सोनिया गान्धीले मजदुरहरु देशको अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै उनीहरुले देश विकासमा ठूलो योगदान दिएको पनि बताएकी छन् ।
कांग्रेस नेता राहुल गान्धीले पनि ट्वीट गर्दै रेलले उनीहरुका लागि तय गरेको टिकटको भाडा आफूहरुले तिरिदिने बताए । धेरै मजदुरहरुसँग रेलको टिकट काट्ने पैसा नभएकाले कांग्रेसले यस्तो निर्णय लिएको बताइएको छ ।
सत्तारुढ दल भारतीय जनता पार्टीका नेताहरुले भने मजदुरको मुद्दामा राजनीति गर्न खोजेको आरोप लगाएको छ । भारत सरकारले कोरोनाभाइरस संक्रमणको प्रभावका आधारमा विभिन्न क्षेत्रलाई ‘रेड जोन’, ‘ओरेन्ज जोन’ र ‘ग्रीन जोन’ गरी छुट्याएको छ । जसमध्ये ग्रीन जोन र ओरेन्ज जोनमा लकडाउन खुकुलो पारेको छ ।