विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार २९३ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३७ लाख २४ हजार ६६४ जना संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ३९ हजार ९ सय जना उपचारपछि घर फर्किएका छन् । २२ लाख २६ हजार ४३३ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार २४८ जनाको अवस्था गम्भीर छ ।
सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा ७२ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप २ हजार ३०१ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ७२ हजार २२२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार २५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ३६ हजार ८८० पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ९९ हजार ६८४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ६४ हजार ९७४ जनामध्ये १६ हजार १७५ जनाको अवस्था गम्भीर छ ।
अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ५० हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १८५ जनाको मृत्यु भएको छ भने २ हजार २६० जना नयाँ संक्रमित थपिएका छन् ।
स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार ६१३ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ५० हजार ५६१ पुगेको छ । १ लाख ५४ हजार ७१८ जना उपचारपछि निको भएका छन् । ७० हजार २३० जना उपचाररत छन् । त्यसमध्ये २ हजार २५४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
त्यस्तै इटालीमा एकै दिन २३६ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २९ हजार ३१५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १३ हजार १३ पुगेको छ । इटालीमा संक्रमितमध्ये ८५ हजार २३१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९८ हजार ४६७ जनामध्ये १ हजार ४२७ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
त्यस्तै भारतमा एकै दिन थप १२७ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १२७ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ६९३ पुगेको हो । भारतमा एकैदिन थप २ हजार ९६३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४९ हजार ४०० पुगेको छ । भारतमा संक्रमितमध्ये १४ हजार १४२ जना उपचारपछि निको भएका छन् । ३३ हजार ५६५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १५ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा छ । एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ५२० जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार ३४० जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।