विहीबार (भोलि)का लागि डाकिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बहुप्रतिक्षित स्थायी समिति बैठक नबस्ने भएको छ। नेकपाका महासचिव बिष्णु पौडेलले भोलिका लागि बोलाइएको बैठक केही समयपछि सार्न दुई अध्यक्ष सहमत भएको बताए। प्रधानमन्त्रीनिकट एक सचिवालय सदस्यले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले भोलि बैठक राख्न अनिच्छुक देखिएकाले बैठक सरेको हो।
भोलिको बैठकमा पेस गर्ने प्रस्तावबारे छलफल गर्न बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो। उक्त बैठकमा प्रधानमन्त्री ओलीले बैठकमा पेस गर्ने प्रस्ताव तयार पार्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिइएको बताएका थिए।
‘तर उहाँहरूले पनि प्रस्ताव तयार पारिसक्नु भएको छैन। सरकार अहिले कोरोनाभाइरसको संक्रमणविरूद्ध केन्द्रीत छ। संसदमा नीति तथा कार्यक्रम र बजेट पनि पेस गर्ने बेला आएको छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै ती सचिवालय सदस्यले भने,‘मलाई दौडधुप पनि छ। जिउ दुखेको छ, आराम गर्छु। तपाईंहरू बस्दै गर्नुस्।’ प्रधानमन्त्री ओली यति भनेर बैठकबाट बाहिरिएपछि नफर्किएको उनले जानकारी दिए।
त्यसो भए भोलि स्थायी समिति बैठक बस्दैन भन्ने प्रश्नमा ती सचिवालय सदस्यले भने,‘प्रधानमन्त्रीनै एजेन्डा र प्रस्तावबिना बैठक नबस्ने भनेकाले भोलिचाहिँ बैठक बस्दैन।’ सचिवालय बैठक सकिएपछि ओली र प्रचण्डबीच बालुवाटारमा एक्लाएक्लै भेट भएको थियो। उनीहरू दुबै जना बैठक दुई-चार दिन सार्न सहमत भएका छन्।