वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली बैठकबाट भाग्न खोजेको आरोप लगाएका छन्। बैशाख २५ गते ११ बजेका लागि तय भइसकेको बैठक स्थगित हुनुको कारण प्रधानमन्त्री ओली नै रहेको उनीहरूको ठहर छ। वरिष्ठ नेता नेपालनिकट स्थायी समिति सदस्य वेदुराम भुषालले प्रधानमन्त्री डराएकै कारण बैठक स्थगित गरिएको बताए।
‘उहाँ (प्रधानमन्त्री ओली) बैठकको सामना गर्न पर्छ भनेर डराएकै त होला नि। अरू त के हुन्छ र ? बैठकबाट भागेर कति दिन भाग्ने हो, कहाँ जाने हो,’ भुषालले भने, ‘बैठकबाट भाग्ने भनेको त पार्टीबाट भाग्ने हो। उहाँले मात्रै हो बैठक सारेको, किनकि उहाँ आफैं सचिवालय बैठक छाडेर हिँड्नुभएको हो।’
बैठकको अध्यक्षता गरेकै व्यक्ति हिँडेपछि अरूलाई केही भन्ने ठाउँ नरहेको समेत उनले बताए। ‘बैठक चलाउन नसक्ने, सचिवालय बैठक छाडेर हिँड्ने, अनि स्थायी समिति बैठक बोलाउन नमान्ने भनेको त बोलाउन नचाहेको भन्दा पनि बैठक चलाउन नसकेको भन्ने हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीको यो गतिविधिले नकरात्मक सन्देश गएको छ।’
प्रचण्डनिकट स्थायी समिति सदस्य मातृका यादवले पनि प्रधानमन्त्रीले बैठकको सामना गर्न नचाहेको आरोप लगाए । ‘पार्टी एकता सुदृढ गर्न र अहिले जनतामा उठेका सवालको जवाफ दिन पनि बैठक अनिवार्य थियो। त्यसले समग्र पार्टी र सरकारलाई फाइदा हुन्थ्यो,’ यादवले भने, ‘यसले राम्रो गरेको छैन। पार्टी र सरकार सबैका लागि ठीक भएन। बैठक सारेर समस्या समाधान हुँदैन। बैठकमा स्पष्ट पार्नुपर्थ्यो, त्यो भएन।’
आफूले बुझेअनुसार प्रधानमन्त्रीकै चाहनाले गडबढ भएको र स्थायी समिति बैठक समेत सारेको उनले बताए। प्रधानमन्त्री सचिवालय बैठकमै नबसेको उनको भनाइ छ। वरिष्ठ नेता नेपालनिकट अर्का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बैठकको विकल्प बैठक मात्रै भएको बताए।