आतङ्कवादी हमलाभन्दा पनि कोरोना भाइरसको महामारी घातकः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी अमेरिकामा अहिलेसम्म भएका सबैखाले आक्रमणभन्दा पनि घातक भएको टिप्पणी गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँगको नियमित संवादमा राष्ट्रपति ट्रम्पले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानद्वारा पर्ल हार्बरमा गरिएको बमबारी र दुई दशकअघि न्यूयोर्कस्थित ट्वीन टावरमा भएको आतङ्कवादी हमलाभन्दा पनि कोरोना भाइरसको महामारी घातक देखिएको बताए ।

उनले यावत खराब अवस्थाको जिम्मेवार चीन भएको समेत फेरि दोहोर्‍याएका छन् । ‘चीनमा रहेको भाइरसको मुहानै रोकिनुपर्थ्यो तर त्यसो भएन’, ट्रम्पले भने, ‘म यो अदृश्य शत्रुलाई युद्धका रुपमा लिन्छु । मलाई यो भाइरस यहाँसम्म जसरी आयो त्यो मन परेको छैन, किनकी यसलाई रोक्न सकिन्थ्यो, तर त्यस्तो भएन।’



वुहानमा रहेको एक प्रयोगशालाबाट भाइरस फैलिएको भन्दै अमेरिकाले चीनमाथि छानविन गर्नुपर्ने पटकरपटक बताउदै आएको छ । चीनले भने उक्त आरोपहरुलाई पुष्टि गर्न चुनौती दिदै आएको छ।

सम्बन्धित समाचार