सामाजिक सञ्जाल ट्वीटरले आफ्ना कामदारलाई कोरोना भाइरसको महामारीका बेला मात्रै नभएर त्यसपछि पनि घरबाटै काम गर्न सक्ने विकल्प दिने भएको छ । अमेरिकाको सन फ्रान्सिस्कोमा मुख्यालय रहेको ट्वीटरका झण्डै पाँच हजार कर्मचारीले मार्चको सुरु देखि नै घरबाट काम गर्दै आएका छन् ।
घरबाट हुँदै आएको काम अति राम्रो भएकाले कामको प्रकृतिले भ्याउनेहरुलाई महामारीपछि पनि घरबाटै काम गर्ने विकल्प खुला रहने ट्वीटरले जनाएको हो ।
ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्याक डोर्सीले कर्मचारीलाई गरेको इमेलमा भनिएको छ, ‘पछिल्लो केही महिनाको काम हेर्दा हामीले घरबाटै पनि राम्रो काम गर्न सकिने प्रमाणित भएको छ । त्यसैले सधैँका लागि घरबाटै काम गर्न सक्ने व्यवस्था पनि हामीले गरेका छौँ ।’
स्थायी रुपमा घरबाट काम गर्न नमिल्ने कर्मचारीका लागि यो वर्षको अन्त्यसम्ममा कार्यालय खुला गर्ने उनले उल्लेख गरेका छन् । ट्वीटरको कार्यालय चाँडोमा आउँदो सेप्टेम्बरमा मात्रै खुल्ने उनले स्पष्ट पारेका छन् ।
नयाँ दिल्ली, लण्डन, सिंगापुर गरी विश्वभर ट्वीटरका ३५ कार्यालय छन् । फेसबुक र गुगलसहितका कम्पनीहरुले पनि आफ्ना धेरै कर्मचारीलाई यो वर्षभर घरबाटै काम गर्न सक्ने अनुमति दिएको छ ।