अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा। टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्वपूर्ण परिवतन गर्न ३० दिनको अल्टिमेटमसहित पत्र पठाएका छन् ।
उनले ३० दिनभित्र महत्वपूर्ण परिवर्तन नगरेमा अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएका छन् ।
कोरोना भाइरसको महामारी नियन्त्रणमा पर्याप्त काम गर्न नसकेको तथा चीनको पक्ष लिएको आरोप लगाउँदै ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग अस्थायी रुपमा रोकेका छन् । यसअघि ट्रम्पले डब्लुएचओलाई चीनको ‘कठपूतली’ भनेका थिए । डा. टेडरोजलाई पठाएको पत्र ट्वीट मार्फत सार्वजनिक गरेका छन् ।
पत्रमा ट्रम्पले महामारी नियन्त्रणमा लागि अत्यावश्यक काम नगरेको भन्दै डब्लुएचओको आलोचना गरेका छन् । गएको वर्षको डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएकै बेला डब्लुएचओले सही र वास्तविक सूचना दिन नसकेको अभियोग ट्रम्पको छ ।
लगातार चीनको प्रशंसा गरेको भन्दै ट्रम्पले डब्लुएचओको आलोचना गरेका छन् । डब्लुएचओले आफूलाई चीनबाट स्वतन्त्र रहेको देखाउनु नै अबको एक मात्र विकल्प रहेको बताएका छन् ।
त्यसका लागि डब्लुएचओ प्रतिबद्ध नरहेमा अमेरिकाले दिँदै आएको आर्थिक सहयोग सदाका लागि बन्द गर्ने चेतावनी ट्रम्पको छ । यस्तै अमेरिकाको डब्लुएचओ सदस्यताबारे पनि पुनर्विचार गर्ने ट्रम्पले बताएका छन् ।