जातीय गालीविरुद्ध अभिनेत्री अनुष्कालाई ‘लिगल नोटिस’

हालै ओटीटी प्लेटफर्ममा रिलिज गरेको वेब सिरिजका कारण विवादमा तानिएकी अभिनेत्री अनुष्का शर्मालाई ‘लिगल नोटिस’ पठाइएको छ ।

सिरिजमा बोलिएको एक संवादका कारण उनलाई उक्त नोटिस पठाइएको हो । उक्त संवादमा नेपाली समुदायका महिलाहरूलाई अपमान गरिएको भन्दै वकिल विरेन श्री गुरुङले उनलाई लिगल नोटिस पठाएका हुन् ।



वकिल विरेन गिल्ड र प्रणय राय एन्ड असोसियट्सको चेम्बरका सदस्य हुन् । विरेनले भनेका छन्, ‘एक भिडिओ क्लिपमा महिला प्रहरी अफिसरले नेपाली पात्रलाई जातीय गाली दिएका छन् । यदि नेपाली शब्द मात्रै बोलिएको भए फरक पर्दैन थियो । तर त्यसपछि जस्तो शब्द प्रयोग गरिएको छ त्यो स्वीकार्य हुँदैन । अनुष्का यस शोकी निर्मात्री भएकाले उनलाई यो नोटिस पठाइएको हो ।’

भारतीय सञ्चारमाध्यमहरूका अनुसार गोर्खा कम्युनिटीले पनि यो संवादमा आपत्ति जनाउँदै संवाद हटाउन माग गरेका छन् । उनीहरूले १८ मे मा अनलाइन पिटिसनमार्फत उक्त संवादबारे आपत्ति जनाएका हुन् ।

अनुष्काको यस संवादबारे केही नेपाली अभिनेत्रीले पनि सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका थिए । यद्यपि अभिनेत्री अनुष्काले भने यस विषयमा केही बोलेकी छैनन् ।

सम्बन्धित समाचार