अंपुन आँधीले भारतमा ७२ जनाको मृत्यु

बंगाल खाडीमा बनेको अंपुन नामको  आँधी (चक्रवात)का कारण  भारत र बंगालदेशमा कम्तिमा ८४ जनाको मृत्यु भएको छ । आँधीको प्रभावले भारतको पश्चिम बंगालमा मात्रै ७२ जनाको मृत्यु भएको छ भने बंगलादेशमा १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

विहीबार करिव ३ घण्टासम्म प्रति किलोमिटर १२० देखि १३३ किमीको गतिमा चलेको ठूलो हावाहुरीका कारण रुख, बिद्युतका पोलहरू ढलेका थिए भने हजारौं घरका छाना उडाएको तथा ठाउँ-ठाउँमा घर नै भत्काउँदा कतिपय मानिसहरुको त्यही च्यापिएर मृत्यु भएको जनाइएको छ ।



आँधीले भारतको कोलकता र ओडिशा क्षेत्र बढी प्रभावित भएका छन् । भारतको मौसम विभागका अनुसार बुधबार राति ८ देखि १० बजेसम्म त्यहाँ २२२ मिलिमिटर पानी परेको थियो । आँधीप्रभावित क्षेत्रको अवलोकन गर्दै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई २र२ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेकी छन् ।

यसैबीच प्रभावित क्षेत्रको आज प्रधानमन्त्री नरेन्द्र मोदीले अवलोकन गर्ने भएका छन् । मोदी ओडिशा र पश्चिम बंगाल क्षेत्रको अवलोकनमा जाने र त्यहाँ राहत तथा उद्धारको अवस्थाबारे समिक्षा गर्ने भारतीय प्रधानमन्त्री कार्यालयले विहीबार ट्वीटरमार्फत जानकारी दिएको छ ।

सम्बन्धित समाचार