पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको छ । कराँचीका मेयरले विमानमा सवार सवैको मृत्यु भएको पुष्टि गरेका हुन् । मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिएका छन् ।
क्षति भएको घरमा कोही मानिस थियो कि थिएन वा उनीहरुको मृत्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उनले बताए । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उनले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिएका छन् । पाकिस्तानी सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय विमान कम्पनीकोे विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो । पाकिस्तानको लाहोरदेखि कराँचीतर्फ आइरहेको विमान दुर्घटना भएको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका अब्दुल सतार कोखरले बताए ।
विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अगाडि नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा विषेश गरेर गरिव समुदायका मानिसहरु बस्ने गर्दथे । प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि तीन पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुले बताए ।
कोरोना भाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै मात्र पुनः सञ्चालनमा आएको हो ।