अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । हिजो एकै दिन ७ सय ४० जनाको ज्यान गएसँगै अमेरिकामा हालसम्म एक लाख ५ सय ४५ जनाको ज्यान गइसकेको छ। त्यहाँ १७ लाख २५ हजार ३ सय ४७ कोरोना संक्रमित पुगेका छन् ।
त्यस्तै अमेरिकामा हालसम्म ४ लाख ७८ हजार २ सय २५ जनासंक्रमित निको भइसकेका छन् । अमेरिकापछि ब्राजिलमा तीब्र रुपमा फैलिएको यो भाइरसका कारण हालसम्म ३ लाख ९१ हजार २ सय २२ जनामा संक्रमण देखिएको छ। त्यस्तै त्यहाँ २४ हजार ५ सय १२ जनाले ज्यान गुमाइसेका छन्।
रुसमा संक्रमितको संख्या ३ लाख ६२ हजार ३ सय ४२ रहेको छ । त्यहाँ ३ हजार ८ सय ७ जनाको ज्यान गइसकेको छ। संक्रमितको आधारमा चौथो स्थानमा रहेको स्पेनमा हालसम्म २७ हजार १ सय १७ को ज्यान गएको छ। त्यस्तै २ लाख ८३ हजार ३ सय ३९ जनामा संक्रमण भेटिएको छ।
बेलायतमा ३७ हजार ४८ जनाको ज्यान गइसकेको छ। त्यहाँ २ लाख ६३ हजार २ सय २७ जनामा संक्रमण देखिएको छ। भारतमा संक्रमित हुनेको संख्या एक लाख ५० हजार नाघेको छ। ४ हजार ३ सय ४९ जनाको ज्यान गएको छ ।
विश्वभर संक्रमितको संख्या ५६ लाख ८३ हजार ८०२ रहेको छ। संसारभर एकै दिन ९३ हजार ३० संक्रमित थपिएका छन् ।