डब्लुएचओद्वारा सार्वजनिक स्थानमा सबैले मास्क लगाउन आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मास्कका सम्बन्धमा आफ्नो सुझाव परिवर्तन गरी सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन सबैसँग आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा अनिर्वाय रुपमा मास्क लगाउन डब्लुएचओले आफ्नो परिमार्जित सुझाव मार्फत सबैसँग अपिल गरेको हो ।

नयाँ जानकारीहरु अनुसार मास्कले संक्रमण फैलाउन सक्ने वा कोरोना भाइरस रहेका ओसिला छिटाहरुबाट मास्कले जोगाउन सक्ने देखिएको डब्लुएचओले उल्लेख गरेको छ । विश्वका केही देशहरुले यसअघि नै सार्वजनिक स्थानमा जाँदा मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम नै लागु गरेका छन् ।



डब्लुएचओले यसअघि स्वस्थ मानिसले मास्क लगाउनु पर्ने भनेको थिएन । स्वस्थ मानिसले मास्क लगाएमा संक्रमणबाट जोगिन्छ भन्ने पर्याप्त प्रमाण प्राप्त नभएको उसको भनाई थियो । डब्लुएचओले संक्रमणको शंका लागेका, संक्रमण भएकाहरुको नजिक जाने, उनीहरुको स्याहार गर्ने, संक्रमण भएकाहरुले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने बताएको थियो ।

यसो गर्दा संक्रमण फैलिन नपाउने उसको भनाई थियो । परिमार्जित सुझावमा स्वस्थ मानिसले पनि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा सम्भावित संक्रमित व्यक्तिको सम्पर्कमा आउन सकिने भएकाले संक्रमणबाट जोगिने उपायका रुपमा मास्क लगाउनु पर्ने बताएको हो ।

डब्लुएचओको कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा. मारिया भान केर्खोभले समाचार संस्था रोयटर्ससँग सर्वसाधारणलाई मेडिकल मास्क नभइ कपडाको मास्क लगाउन भनिएको बताएकी छन् । डब्लुएचओले यसअघि नै जोखिममा रहेका र संक्रमितको स्याहार गरिरहेका व्यक्तिले मेडिकल मास्क लगाउनु पर्ने बताएको थियो ।

विश्वभर कोरोना भाइरसबाट ६७ लाख २४ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । त्यसमध्ये तीन लाख ९४ हजार भन्दा बढीको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार