कोरोना सङ्क्रमण भयो भने हाम्रो शरीरमा के हुन्छ ?

गत डिसेम्बर महिनामा पहिलो पटक भेटिएको नयाँ कोरोना भाइरस र यसले लगाउने रोग कोभिड-१९ अहिले विश्वव्यापी महामारी बनिसकेको छ। कसै-कसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ।

यो नयाँ भाइरसले कसरी शरीरमा आक्रमण गर्छ ? यसका कारण किन मानिसको ज्यान जान्छ ? यसको उपचार कसरी भइरहेको छ त ?



मानिसको शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ। त्यसलाई सङ्क्रमणकाल भनिन्छ। त्यो बेला भाइरसहरूले तपाईँको शरीरमा कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन् ।

यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईँले सास फेर्दा कोरोना भाइरस शरीरमा पस्न सक्छ। दूषित वस्तु वा सतह छोएर आफ्नो अनुहार छुँदा पनि कोरोनाभाइरस शरीरमा छिर्न सक्छ। त्यसले पहिला तपाईँको घाँटीभित्रका कोष, सासनली र फोक्सोलाई असर गर्न थाल्छ। बिस्तारै ती अङ्ग कोरोना भाइरस उत्पादन गर्ने कारखानाजस्तै बन्न पुग्छन् र धेरै भाइरस उत्पादन हुन थाल्छन्। तिनले तपाईँका थप कोषलाई आक्रमण गरेर तिनमा आफ्नो अधिकार स्थापित गर्छन्।

प्रारम्भिक अवस्थामा तपाईँ बिरामी पर्नुहुन्न। केही मानिसलाई त कहिल्यै कुनै लक्षण नै देखिँदैन। भाइरस स्थापित हुने सङ्क्रमणकालीन अवधि सरदर पाँच दिनको भएको पाइएको छ।

अधिकांश सङ्क्रमित मानिसले यो बेहोर्नुपर्छ। कोभिड-१९ भन्ने रोग १० मध्ये आठ जनाका लागि सामान्य रोग हो। उनीहरूलाई रुघा लाग्ने र ज्वरो आउने गर्छ। शरीरका अङ्ग दुख्ने, घाँटी दुख्ने र टाउको दुख्ने समस्या हुन सक्छन्। तर ती लक्षण देखिन्छन् नै भन्ने छैन।

ज्वरो आउनु र असहज महसुस गर्नु तपाईँको प्रतिरक्षा प्रणाली सक्रिय भएर त्यसले सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको परिणाम हो । यस्तो बेला भाइरस कुनै बाह्य तत्त्व हो भन्ने बुझेर त्यसविरुद्ध लड्न उक्त प्रणालीले साईटकाईन नामक प्रोटीन परिचालन गर्छ ।

यस्तो बेला प्रतिरक्षा प्रणाली पूरै सक्रिय हुन थाल्छ। तर सँगसँगै शरीरमा पीडा हुने र तापक्रम बढ्ने अर्थात् ज्वरो आउने हुन्छ। कोरोना भाइरस सङ्क्रमण भएको बेला सुक्खा खोकी लाग्छ। त्यति बेलासम्म भाइरसहरू कोषमा बिस्तारै सक्रिय हुन थाल्छन्। केही मानिसलाई खकार पनि आउन थाल्छ।

यस्ता लक्षण देखिएमा बिरामीलाई ओछ्यानमा आराम गर्न लगाइन्छ र पर्याप्त झोल कुरा खान दिइन्छ। प्यारासिटामोल पनि दिइन्छ। यति बेला अस्पताल नै लगेर विशेष उपचार गर्न आवश्यक हुँदैन। एक हप्तासम्म रहन सक्ने यो अवस्थामा प्रतिरक्षा प्रणाली सक्रिय भएका कारण अधिकांश बिरामीहरूलाई निको हुन्छ।

तर केही केहीलाई गम्भीर प्रकारको समस्या उत्पन्न हुन सक्छ। तथापि नयाँ अध्ययनले कोही बिरामीको नाकबाट धेरै सिँगान आउने गरेको पनि देखाएको छ।

बीबीसीकाे सहयाेगमा

सम्बन्धित समाचार