‘लद्दाखमा वार्तामा बस्न हतारिएको भारत नेपालसँग वार्तामा बस्न नचाहनु आश्चर्यजनक’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अतिक्रमित भूमिको विवाद सुल्झाउन भारतलाई वार्तामा राख्न निरन्तर ताकेता गरिरहेको जानकारी दिएका छन् ।

संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा नेपाल वार्ताबाटै समस्याको समाधान गर्ने पक्षमा रहे पनि भारतले वार्ता नचाहिरहेको उनले उल्लेख गरे । उनले प्रतिनिधिसभामा भने, ‘वार्ताका लागि निरन्तर ताकेता गरिरहेका छौं। वार्ता बाहेकको अर्को विकल्प छैन। हामीले सुगौली सन्धिबाट कायम भएको भूमि दाबी गरेका हौं ।’ उनले लद्दाखमा भारत धकेलाधकेल पन्छाएर वार्तामा बस्ने तर नेपालको हकमा भने वार्तामा बस्न नचाहनु आश्चर्यजनक भएको टिप्पणी गरे ।



मन्त्री ज्ञवालीले गत नोभेम्बर २ मा भारतले सार्वजनिक गरेको नक्सा स्वीकार गरे पुग्ने उल्लेख गरे । उनले नेपालले अतिरिक्त आकांक्षा नखोजेको पति प्रष्ट पारे । ‘छिटो गरौं भन्ने ताकेता गरिरहेका छौं। हामीले अतिरिक्त भौगोलिक आकांक्षा खोजेका छैनौं,’ मन्त्री ज्ञवालीले भने ।

त्यस्तै उनले नक्साबारे टिप्पणी गर्दा आफ्नै मर्यादालाई ख्याल गर्न सांसदहरुलाई सुझाव दिएका छन् ।

सांसद सरिता गिरीले भारतसँग सल्लाह नगरी नेपालले नक्सा सार्वजनिक गर्न नहुने भन्दै नेपालले ‘नाटक’ गरेको बताएकी थिइन् । त्यसप्रति लक्षित गर्न ज्ञवालीले भने, ‘नक्सा सार्वजनिक कुनै नाटक होइन । यस्ता कुरा बोल्दा माननीय ज्यूहरुलाई आफ्नै मर्यादा ख्याल गर्न आग्रह गर्दछु ।’

ज्ञवालीले कांग्रेस सांसद प्रदीप गिरीले नक्सा सार्वजनिकलाई ‘नक्साअस्त्र’ शब्द प्रयोग गरेकोप्रति पनि असन्तुष्टि जनाए । उनले नेपाले कुनै अस्त्रको प्रयोगको पक्षमा नरहेको जवाफ दिए ।

सम्बन्धित समाचार