लक्षणबिहीन संक्रमितबाट कोरोना भाइरस फैलिने सम्भावना कति ?

लक्षण बिहीन संक्रमितबाट कतिमा कोरोना भाइरसको संक्रमण फैलियो भन्ने कुरा अझै अस्पष्ट रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रष्ट पारेको छ ।

कोरोना भाइरस सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख डा. मारिया भान केर्खोभले सोमबार लक्षण बिहीन व्यक्तिबाट कोरोना भाइरसको संक्रमण फैलिने जोखिम ‘अति दुर्लभ’ रहेको बताएकी थिइन् । उनको यो टिप्पणीलाई लिएर विवाद सिर्जना भएको थियो ।



डब्लुएचओले सोही परिवेशमा लक्षण बिहीन संक्रमितबाट कतिमा संक्रमण फैलियो या त्यसको दर कस्तो छ भन्ने कुरा अझै पनि स्पष्ट रुपमा थाहा नभएको बताएको हो । डा. मारियाले आफ्नो टिप्पणी अति सीमित अध्ययनमा आधारित रहेको बताएकी छन् ।

प्रमाणहरुले लक्षणसहितका संक्रमितबाट अरुमा संक्रमण फैलिन सक्ने जोखिम अधिक हुने देखिएका छन् । तर कोभिड–१९ एक व्यक्तिबाट अर्को व्यक्तिमा बिना लक्षण पनि फैलिन सक्छ । कुनै पनि लक्षणबिना कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्तिबाट कति व्यक्तिमा संक्रमण फैलियो भन्ने कुरा स्पष्ट भएको छैन । वैज्ञानिकहरुले लक्षण बिहीन संक्रमितबाट अरुमा संक्रमण फैलिने जोखिम कति रहन्छ भन्ने बारे अनुसन्धान गरिरहेको डब्लुएचओले जनाएको छ ।

सावधानी नअपनाएमा संक्रमितबाट अरुमा संक्रमण फैलिन सक्ने सम्भावना रहेको डब्लुएचओले जनाएको छ, चाहे ती संक्रमितमा लक्षण नदेखिएको होस् या उनीहरुको स्वास्थ्य अवस्था सामान्य नै रहोस् ।

केही अध्ययनहरुले लक्षण बिहीन वा अति न्यून लक्षणयुक्त संक्रमितबाट कुल मध्ये आधा भन्दा बढीमा संक्रमण फैलिएको हुन सक्ने आशंका गरेका छन् ।

सम्बन्धित समाचार