‘भैंसी करणी’सँग जोडियो रुपन्देहीको सामूहिक हत्या प्रकरण, अभियुक्तले दिए यस्तो बयान

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजारमा मंगलबार भएको सामूहिक हत्याकाण्ड ‘भैंसी करणी’ प्रकरणमा जोडिएको अनुषन्धानमा पत्ता लागेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान र पक्राउ परेका एक अभियुक्त झसेन्द्र सिंजालीको बयानअनुसार चरित्र हत्या गर्ने गरेकोले नै ५ जनाको हत्या गरेको पाइएको हो ।

कान्छीबजारको मैनहवास्थित स्थानीय कृष्णबहादुर पुनको गंगादेवी पशुफर्ममा काम गर्ने तीन कामदार, तथा दुई जना स्थानीय युवाको हत्या अभियोगमा सुर्खेत लेकबेंसी नगरपालिका वडा नं. ५ घर भई गत वैशाखदेखि सोही फर्ममा काम गर्दै आएका झसेन्द्र सिंजालीलाई प्रहरीले घटनास्थलबाटै मंगलबार पक्राउ गरेको थियो। पक्राउ परेका सिंजालीले प्रहरीसँगको बयानमा मुसहर दम्पत्तिले आफ्नो चरित्र हत्या गर्ने गरेको र साहूलाई समेत कुरा लगाउँदै आएकोले त्यसैको बदला लिन उनीहरूको हत्या गरेको स्वीकार गरेका छन्।



सामूहिक हत्या घटनाको अनुसन्धानको लागि गठित अनुसन्धान टोलीका प्रमुख प्रदेश ५ प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले घटनास्थलको अध्ययन र हत्या अभियोगमा पक्राउ परेका सिंजालीले आफूलाई लगाउँदै आएको आरोपको बदला लिन हत्या गरेको स्वीकार गरेको बताए।

बयानमा उनले मुसहर दम्पत्तिले आफूलाई ‘भैंसी करणी’ गरेको जस्ता चरित्रमा आक्षेप लगाउने गरेको र उक्त कुरा साहू र अरुलाई समेत सुनाइदिने गरी आफूलाई मानसिक रूपमै चोट पुर्‍याएकोले हत्या गरेको बताएका छन्।

‘केही समय अगाडि मात्रै श्रीमतीले छोडेर गएको र फर्ममा पनि आफ्नो चरित्र हत्या भएकोले सबैलाई ठीक पार्ने सोचमा मनमा आइरहेको थियो, सोमबार साँझ खाना खाइसकेपछि सबै जनाले मदिरा खाइरहेको बेला पनि सोही आक्षेप लगाएपछि तत्काल आवेशमा आई हत्या गरेको हुँ,’ उनले प्रहरीसँगको बयानमा भनेका छन्।

अहिले सिंजालीलाई ईलाका प्रहरी कार्यालयमा राखिएको छ भने जिल्ला अदालत रुपन्देहीबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरू गरिएको वैदवारले जानकारी दिए।

सिंजालीले आफूसँगै फर्ममा काम गर्ने ४० वर्षीय माधव मुसहर उनकी ३७ वर्षीय पत्नी जानकी मुसहर, फर्म सञ्चालक कृष्ण बहादुर पुनले संरक्षण गरी सोही फर्ममा राख्दै आएका १६ वर्षीय पोखराज मुसहर तथा स्थानीय १५ वर्षीय करण चौधरी र १६ वर्षीय आशिष चौधरीको मंगलबार बिहान साढे ११ बजे हत्या गरेका थिए।

सम्बन्धित समाचार