स्पेनिस ला लिगाः बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड शीर्ष स्थानमा

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई २-१ गोलले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको छ। अंक तालिकामा रियलको ३० खेलबाट ६५ अंक भएको छ। दोस्रोमा झरेको बार्सिलोनाको पनि समान ६५ अंक नै छ। यसअघि बार्सिलोना चौथो स्थानको सेभियासँग बराबरीमा रोकिएको थियो।

रियल म्याड्रिड हेड टु हेडको आधारमा शीर्ष स्थानमा उक्लिएको हो। गोलअन्तरमा बार्सिलोना अघि छ। ला लिगामा हेड टु हेडलाई अंक तालिकामा पहिलो प्राथमिकतामा राख्ने नियम छ।



अब बाँकी रहेका ८ खेलमा जित हात पारे रियलले ला लिगाको उपाधि जित्ने पक्का हुनेछ। यो अवस्थामा बार्सिलोनाले सबै खेलमा जित हात पारे पनि फरक पर्नेछैन। रियलले अंक गुमाएको अवस्थामा भने बार्सिलोनाको सम्भावना हुनेछ।

आइतबार रियलका लागि जित दिलाउने क्रममा सर्जियो रामोसले ५० मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे। करिम बेन्जिमाले ७० मिनेटमा रियलको अग्रता दोब्बर पारेका थिए। ८३ मिनेटमा सोसिडाडका मेरिनोले गरेको गोल सान्त्वनामै सीमित बन्यो। सोसिडाड ४७ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा छ।

ला लिगामा आइतबार भएका अन्यमा खेलमा भ्यालेन्सियाले ओसासुनालाई २-० र सेल्टा भिगोले अलाभेसलाई ६-० गोलले पराजित गरेका छन्।

सम्बन्धित समाचार