चन्द्रमामा पनि ट्वाइलेट बनाइने, ट्वाइलेटको डिजाइन माग, उपयुक्तलाई नासाले ४२ लाख दिने

नासाले चन्द्रमामा जाने मानिसहरूका लागि शौच गर्न आवश्यक पर्ने ट्वाइलेटको डिजाइनबारे सुझाव दिन आह्वान गरेको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले चन्द्रमामा फेरि मानिस पठाउने योजना गरिरहेको समयमा त्यहाँ आवश्यक पर्ने ट्वाइलेट कस्तो बनाउने र डिजाइन कस्तो हुने भन्नेबारे सुझाब पठाउन आह्वान गरेको हो ।

नासाले लुनारको सतहमा अन्तरिक्ष यात्रीहरुले प्रयोग गर्ने शौचालयको डिजाइन र तरिकाको बारेमा आफ्नो विचार र आईडियाहरु पठाउन सकिने बताएको हो । नासाले हिरोएक्ससँगको सहकार्यमा एजेन्सीको लुनार ल्याण्डरको लागि आवश्यक पर्ने शौचालय कस्तो बनाउने भन्ने बारेमा प्रतिस्पर्धा शुरु गरेको छ । जसको नाम ‘लुनार लू च्यालेन्ज’ रहेको छ ।



सो प्रतिस्पर्धामा सन् २०२४ भित्र चन्द्रमामा पुर्‍याइने पहिलो एक जना पुरुष र एकजना महिला अन्तरिक्ष यात्रीको लागि शौचालयको डिजाइन, प्रयोगको तरिकालगायत बारेमा नासालाई जानकारी दिन सकिनेछ । त्यसमा कस्तो प्रकारको शौचालय प्रविधि प्रयोग गर्ने भन्ने बारेमा अनुसन्धानकै क्रममा रहेकाले विश्भरबाट सुझाब संकलन गर्न लागिएको हो ।

चन्द्रमामा पृथ्वीको कक्षमा भन्दा करिब ६ गुणा कम गुरुत्वाकर्षण भएको हुँदा नासाले सो समस्यालाई समाधान गर्ने गरि शौचालयको डिजाइन खोजेको हो । जसमा कसैले पनि नविनतम डिजाइन र प्रविधिसहित सुझाब दिनसक्नेछ । सो शौचालयको डिजाइनले पानीको बचत गर्नुका साथै वातावरणमैत्री र ल्याण्डरभित्र गन्धरहित तथा जिबाणुरहित किसिमको हुनुपर्ने छ ।

त्यसैगरि त्यसमा अन्तरिक्ष यात्रीहरुले वान्ता गर्नुपर्ने भएको खण्डमा शौचालयमा टाउको नराखीकन नै गर्न सक्ने डिजाइनलाई थप अंक दिईनेछ । चन्द्रमामा प्रयोग गरिने शौचालयको डिजाइन अवधारणा आगामी अगस्ट १७ तारिखभित्र नासालाई पठाउनुपर्नेछ भने अक्टोबरमा बिजेता घोषणा गरिनेछ ।

चन्द्रमामा प्रयोग गरिने उक्त शौचालयको उपयुक्त डिजाइन पठाउनलेलाई नासाले पुरस्कार समेत दिइने जनाएको छ । बिजेतालाई कुल ३५ हजार अमेरिकी डलर अर्थात करिब ४२ लाख रुपैयाँ नगद दिइने नासाले जनाएको छ ।

सम्बन्धित समाचार