काठमाडौँको ढलमा पनि भेटियो कोरोना भाइरस

काठमाडौँ उपत्यकाको ढलमा पनि कोरोना भाइरस फेला परेको छ । काठमाडौँका चार स्थानको ढलबाट लिइएको नमूना परीक्षण गर्दा दुई स्थानमा कोरोना भाइरस भेटिएको अनुसन्धानकर्ता सेन्टर फर मलिक्युलर डाइनामिक्स नेपाल (सिएमडिएन) ले जनाएको छ ।

अनुसन्धानको नेतृत्व गरेका डा। दीवेश कर्माचार्यका अनुसार १०–११ दिन अघि संकलन गरिएको नमूना परीक्षण गर्दा दुई ठाउँको ढलमा कोभिड–१९ को कारक सार्स कोभिड–२ फेला परेको हो । उनले भने, ‘इन्भाएरोमेन्टल सर्भिलेन्स अन्तर्गत हामीले अनुसन्धान गरेका हौँ । यसबारे थप अनुसन्धानको खाँचो छ, तर हामीले चार ठाउँको नमूना परीक्षण गरेर हेर्दा दुई ठाउँमा कोरोना भाइरस देखियो । अब वडा स्तरमा गएर परीक्षण गर्न सकिए, समुदाय तहमा फैलिएको हुन सक्ने कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिन सहयोग पुग्छ ।’



कोरोना भाइरसका कारण ग्यास्ट्रो इन्फेक्सन हुन सक्ने भएकाले दिसामा पनि भाइरस हुन सक्छ र त्यस मार्फत फैलिन सक्छ भन्ने अनुसन्धानहरुमा देखिएकाले आफूहरुले पनि इन्भाइरोमेन्टल सर्भिलेन्स अन्तर्गत अनुसन्धान गरिएको डा। कर्माचार्यले बताए । चाँडै अनुसन्धानको पूर्ण विवरण सार्वजनिक गरिने उनले उल्लेख गरेका छन् । जेनेटिक अनुसन्धानको प्रारम्भिक नतिजामा ढलमा भाइरस देखिएको अनुसन्धानमा संलग्न उनले बताए ।

अनुसन्धानलाई नजिकबाट नियालेका सिएमडिएनका जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षितले ढलमा कोरोना भाइरस देखिनुले कम्तिमा काठमाडौँमा समुदायस्तरमै कोरोना भाइरसको संक्रमण रहेको थाहा हुने बताए । दीक्षितले भने, ‘यसले काठमाडौँमा समुदायमा संक्रमण छ भन्ने संकेत गर्छ । यहाँ केही महिनाअघि देखि नै समुदायस्तरमा संक्रमण रहेको हुन सक्छ । यसबाट धेरै भन्दा धेरै व्यक्तिको परीक्षण गर्नु पर्ने देखियो ।’

आफूहरुले गरेको अनुसन्धान दक्षिण एसियामै लगभग पहिलो रहेको र यसले नेपालमा ल्याब छैन, अनुसन्धान गर्न सकिँदैन भन्ने कुरालाई असत्य सावित गर्ने उनले बताए । अब सरकारले निजी ल्याबहरुलाई पनि परीक्षणको अनुमति दिनु पर्ने र अनुसन्धानका लागि सहकार्य गर्नु पर्ने जनस्वास्थ्य वैज्ञानिक दीक्षितको भनाई छ ।

https://www.facebook.com/CMDNNepal/posts/3118987554814086

सम्बन्धित समाचार