बामदेवलाई प्रधानमन्त्रीको यस्तो प्रस्ताव, गुट फेर्ने चर्चा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको समयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई फकाउने प्रयास गरेका छन् । ओलीले गौतमलाई नयाँ दलको अध्यक्ष बन्न र निर्वाचनपछि प्रधानमन्त्री बन्न अफर गरेको स्वयं गौतमले बताएका छन् ।

नेकपा कार्यकारी अध्यक्ष प्रचण्डसहितको छलफलमा उपाध्यक्ष गौतमले भने, ‘मलाई विभिन्न प्रस्ताव आए । योबीचमा मलाई नयाँ दलको अध्यक्ष बन्ने, अब चुनाव जितेपछि संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने प्रस्ताव पनि आयो । मेरा मान्छेलाई मन्त्री बनाउने भन्ने कुरा पनि मलाई ओलीजीले राख्नु भयो ।’



गौतमले आफूले प्रधानमन्त्रीलाई गलत कदममा साथ दिन्न भनेको बताएका थिए । गौतमलाई शुक्रबार ओली समूहले नै राष्ट्रपति विद्या भण्डारीसँग पनि भेटाएको स्रोतले बतायो । ओलीले गरेका अफरमा राष्ट्रपतिले आफू साक्षी बस्न तयार रहेकोले गुट परिवर्तन गर्न आग्रह गरेको स्रोतको दाबी छ ।

गौतम केही दिन दुबै पक्षका कुरा सुनेर निर्णय लिने तयारीमा छन् । यस प्रकरणपछि गौतमले धोका दिने हुन् कि भन्ने आशंका ओलीइत्तरका शक्तिमा व्याप्त भएको छ ।

पार्टीमा विवाद थप उत्कर्षमा पुगेपछि एकले अर्को पक्षका नेताहरु तान्ने प्रयास गरिरहेका छन् । प्रधानमन्त्री ओली र प्रचण्डले वार्ता र संवादलाई निरन्तरता दिएका छन् । पछिल्ला संवाद र घटनाक्रम हेर्दा नेकपामा एकले अर्कोलाई गलाउनेगरी छलफल चलिरहेका छन् ।

सम्बन्धित समाचार