नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी संकटका बीच अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता हुँदैछ। पार्टी एकता कायम राख्न पार्टीमा अन्तिम कसरत भइरहेका बेला ओली र प्रचण्डबीच आज निर्णयक वार्ता हुन लागेको हो।
आज अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग गहन र विस्तृत छलफल गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रचण्डले शनिबार दिउँसो माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतसँग पनि छलफल गरेका थिए। छलफलमा पार्टी फुटको अवस्थामा पुगेको भन्दै नेताहरूले चिन्ता व्यक्त गरेका थिए। नेता नेपालले पार्टी लगभग फुटेको अवस्थामा पुगेको बताएका थिए।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रीहरुसँगको भेटवार्तामा पनि ओलीले पार्टी फुटको संघारमा पुगेको संकेत गर्दै आफ्नो पोजिसन क्लियर गर्न मन्त्रीहरुलाई आग्रह गरेका थिए।