नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असार ।
नेपाली कांग्रेसले १४ औं महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेकोको केन्द्रीय समिति बैठकले कोरोना भाइरस महामारीले क्रियाशील सदस्यता वितरण, नविकरणलगायतका काम तीन महिनादेखि रोकिए पनि फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको हो।
महाधिवेशन फागुनमै गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रदेशलगायत तल्ला निकायका अधिवेशन कार्यतालिकामा भने हेरफेर गरिएको छ। कात्तिकदेखि सुरू गर्ने तय भएको वडा अधिवेशन दुई महिना पछाडि धकलेर पुसमा पुर्याइएको छ। पुस ६ गतेदेखि वडा अधिवेशन सुरू हुनेछन्।
कांग्रेसले कोरोना महामारीकै बीच अब बाँकी रहेका करिब ३० जिल्लामा समायोजनका काम, क्रियाशील सदस्यता वितरण तथा नविकरणका काम सुरू गर्न लागेको हो। सभापति शेरबहादुर देउवाको नियमित चार वर्षे कार्यकाल गत फागुनमै सकिएको थियो।