प्रचण्डसँग माधव नेपाल असन्तुष्ट, दिए साथ छोड्ने चेतावनी

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने मागमा एकढिक्का देखिएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच खटपट देखिएको छ । खासगरी ओली र प्रचण्डबीच भएको वार्तालाई लिएर नेपालले असन्तुष्टि जनाइरहेका छन् । वार्तामा फेरि अध्यक्षद्वयले चोचोमोचो मिलाएर आफूलाई बेवास्था गर्ने र पेल्ने रणनीति दिने हुन् की भन्ने आशंका नेपालमा देखिएको छ ।

नेपालले गत आइतबार ओली र प्रचण्डले वार्ता कार्यदल भन्दै आ–आफूनिकट ४ नेता सहभागी गराएकोमा पनि नेपालले असन्तुष्टि जनाएका छन् । आइतबारको छलफलमा महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्मासहित छलफलमा बसेका उनीहरूले सहमतिको आधार खोज्न भन्दै उनीहरू ४ जनाको कार्यदल बनाएका थिए ।



नेपालको असन्तुष्टिपछि सोमबार भने ओली र प्रचण्डमात्र वार्तामा बसेका थिए । नेपालको असन्तुष्टिपछि प्रचण्डको सचिवालयले नै कार्यदल नबनेको बताएको थियो । नेपालकै असन्तुष्टिको कारण सो कार्यदल काम गर्न नपाउदै भंग भएको छ । अनौपचारीक रूपमा बनेको कार्यदल सोमबार ओली प्रचण्डले अनौपचारिक रूपमै भंग भएको सन्देश दिएका छन् ।

ओली र प्रचण्डबीच आज पनि वार्ता हुने बताइए पनि समय भने निर्धारण गरिएको छैन । हिजोको वार्तामा प्रचण्डको आग्रहमा ओली आवश्यकताको आधारमा वार्तामा माधव नेपाललाई पनि सहभागि गराउने विषयमा सहमत भएका छन् । आजको बैठक सुरु भएपछि माधवलाई पनि बोलाउने तयारीमा प्रचण्ड रहेका छन् । स्थायी कमिटी बैठक भोलि बस्ने भएकोले आजको वार्तामा समय खर्चिएरै भएपनि ओलीसँगको वार्तालाई निर्णायक बनाउने तयारीमा प्रचण्ड रहेका छन् ।

यता वार्ताको समय निर्धारण नहुनु र मन्त्रिपरिषद् बैठक पनि आजै ४ बजेको लागि बोलाउनुले के ओली वार्ता टार्ने योजनामा त छैनन् भन्ने आशंका पनि ओली इत्तरका शक्तिमा रहेको छ । वार्ताको क्रममा आक्रमक रूपमा प्रस्तुत भैरहेका ओलीले दुबै पदबाट राजीनामा नदिने अडान दोहोर्याइरहेकोले ओली प्रचण्ड कसरी सहमतिमा आउलान् भन्ने चासो सर्वत्र रहेको छ ।

नेपालले ४ जनामा आफू निकट नेतालाई नराखिएको भन्दै प्रचण्डसँग गुनासो गरेका थिए । साथै नेपालले प्रचण्डलाई अबको वार्तामा आफूलाई पनि सहभागी गराउन प्रचण्डलाई आग्रह गरेका छन् । उनले वार्ताका एजेण्डा र सहमतिको बटमलाइनबारे आफ्नो पनि सहमति लिन प्रचण्डलाई चेतावनी नै दिएका छन् । आफूहरूको एकतालाई ओलीसँग बागर्नेनिङको आधार बनाएर २ अध्यक्षबीच चोचोमोचो मिलाए आफूहरूलाई स्वीकार्य नहुने चेतावनी प्रचण्डलाई नेपालले दिएका छन् ।

सम्बन्धित समाचार