नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असार ।
नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा १ करोड ५६ लाख रुपैयाँमा अनुबन्धित भएका छन् । १९ वर्षीय लामिछानेलाई ।यो सिजनको सिपीएलका लागि जमैका तलावाजले सोमबार राति १ लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो राउन्डमा छनोट गरेको हो । ड्राफ्टका लागि २३ देशका ५ सय ३७ खेलाडीले नाम दर्ता गराएका थिए ।
सन्दीपले सिपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए । सन्दीपसँगै अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी र अस्ट्रेलियाका बेन डंक पनि सिपीएलका लागि १ लाख ३० हजार अमेरिकी डलरमा अनुबन्धित भएका छन् । सन्दीप सिपीएलका लागि तेस्रोपटक अनुबन्धित भएका हुन् ।
यसअघि उनी सिपीएलको पहिलो संस्करण सन् २०१८ मा सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सका लागि ५ हजार तथा दोस्रो संस्करण सन् २०१९ मा बार्बाडोस ट्राइडेन्सका लागि ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए । यस वर्षको सिपीएल ट्रिनिडाड एण्ड टोबागोमा आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० तारिखसम्म आयोजना गरिने भएको छ । कोरोना भाइरसका कारण उक्त समयमा प्रतियोगिता हुने नहुनेबारे भने अन्योल नै छ ।