नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असार ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । नेकपाभित्रको आन्तरिक शक्ति संघर्षका कारण फुटको संघारमा पुगेको सत्तारूढ दल नेकपाका दुई अध्यक्षबीच मंगलवार झण्डै दुई घण्टा बढी वान टु वान छलफल भएको थियो ।
अध्यक्षद्वय ओली र दाहालबीच वान टु वान भएको छलफलमा ठोस कुनै निष्कर्ष ननिस्के पनि रोकिएको स्थायी कमिटि बैठक सुचारू गर्ने र आपसी छलफल पनि कायम राख्ने सहमति भने भएको छ । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठाइरहेका बेला ओलीले भने दुवै पद नछोड्ने तर पार्टी अध्यक्षको कार्यकारी भूमिकालाई भने थप प्रष्ट पार्ने प्रस्ताव अघि सारेका छन् । पार्टीभित्रको अहिलेको विवाद समाधानका लागि मंसिर ४ मा भएको सहमतिअनुसार प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका थप प्रष्ट पार्ने ओलीको प्रस्तावमा प्रचण्ड पनि लचिलो बनेको स्रोतले बतायो । २०७६ मंसिर ४ गते पाँच वर्ष सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्ने र पार्टीको कार्यकारी जिम्मेवारी प्रचण्डले गर्ने लिखित सहमति भएको थियो ।
नेकपाको गत असार १० गतेबाट सुरू भएको स्थायी कमिटीको पाँचौं बैठकमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसीलगायत एजेण्डाहरू तय भएका थिए । तर यसैबीच गत असार १४ गते एक कार्यक्रममा प्रधाामन्त्री केपी शर्मा ओलीले नेपालको नक्सा जारी गरेवापत आफूलाई पदबाट हटाउन भारतीय राज्य संयन्त्र र नेपालकै केही नेताहरूसमेत लागेका भन्ने अभिव्यक्तिपछि नेकपा स्थायी कमिटी बैठक एजेण्डाभन्दा बाहिर गएको थियो ।
जारी स्थायी कमिटी बैठक बीचमा प्रधानमन्त्रीको अभिव्यक्ति आउनु, नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन पर्नु र अनपेक्षित रूपमा प्रधानमन्त्रीले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्नुले नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको हो । नेकपामा आन्तरिक विवाद बढेपछि पटकपटक स्थगित भएको स्थायी कमिटी बैठक बुधवार (भोलि) फेरि बस्ने कार्यतालिका छ ।