नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।
भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । अहिले एसियाकै महामारी केन्द्र बनिरहेको भारत विश्वमा कोरोना संक्रमित देशको लहरमा तेस्रो स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।
अहिलेसम्म त्यहाँ संक्रमितको ७ लाख ६९ हजार ५२ पुगेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बुधबार मात्र भारतमा २५ हजार ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म भारतको कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ हजार १४४ पुगेको छ । बुधबार मात्रै ४९१ जनाको मृत्यु भएको छ । शनिबार भारतमा एकै दिनमा मृत्यु हुनेको हालसम्मकै उच्च संख्या पुष्टि भएको थियो । शनिबार त्यहाँ ६ सय १० जनाको मृत्यु भएको थियो ।
अहिले भारतमा २ लाख ७१ हजार ३५४ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाको अवस्था भने गम्भीर रहेको छ । त्यसैगरी ४ लाख ९१ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
भारत सरकारले १ जुनदेखि लकडाउनलाई खुकुलो पारेसँगै तथा कोरोना परीक्षणको दायरा पनि बढाएसँगै दैनिक संक्रमण हुनेको संख्या वृद्धि भइरहेको बताइएको छ ।
हाल त्यहाँका ३६ वटा राज्य तथा केन्द्र शासित प्रदेशहरुमध्ये संक्रमितको संख्या सबैभन्दा उच्च देखिनेमा महाराष्ट्र, तमिलनाडु र दिल्ली छन् । संक्रमणको पछिल्लो ट्रेन्ड हेर्दा भारतमा कोरोना तत्काल नियन्त्रणमा आउने देखिदैन ।