नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असार ।
चीनका राष्ट्रपति सी चिनफिङको आलोचना गर्ने प्रोफेसर शू झान ग्रुनलाई हिरासतमा राखिएको छ । उनले कोरोना भाइरसलाई लिएर राष्ट्रपति सीको आलोचना गरेका थिए । प्रोफेसर ग्रुनलाई चिनियाँ सुरक्षाकर्मीले हिरासतमा लिएको उल्लेख गरिएको छ ।
ग्रुनका साथीहरुका अनुसार राजधानी बेइजिङस्थित घरमा सोमबार बिहान २० जना मानिसहरु आएर उनका कम्प्युटर र केही दस्तावेज लगेर गए । यसअघि कोरोना महामारीमा सरकारको कामकारवाहीको आलोचना गर्दै एक लेख लेखेको भन्दै उनलाई घरमै नजरबन्द गरिएको थियो ।
अहिले हिरासतमा लिइएका ती प्रोफेसरका एक साथी जेंग जिओनेनले न्यूयोर्क टाइम्ससँग भनेका छन्, ‘उनी म पक्राउ पर्छु भनेर मानसिक रुपमा पूरै तयार थिए । उनले आफ्नो झोलामा आफ्ना कपडा, टुथब्रस राखिसकेका थिए ।’ प्रोफेसर ग्रुनले यसअघि एउटा व्यक्ति कतिपटकसम्म राष्ट्रपति बन्नसक्छ भनेर पनि प्रश्न उठाएका थिए । त्यसबेला सिन्ह्वा विश्वविद्यालयमा पढाउन रोक लगाइएको थियो ।