नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असार ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्ताहरूलाई पार्टी फुटिहालेजस्तो गरेर आरोप–प्रत्यारोपमा नउत्री एकढिक्का हुन पनि आग्रह गरेका छन् । पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको उनको भनाइ थियो ।
भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकनपछि शनिबार आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागिपरेको दाबी गरे । उनले भने, ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैँ एक छौँ । एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ ।’
उनले भने, ‘प्रधानमन्त्री ओली र म पार्टीभित्र स्वच्छ प्रतिस्पर्धामा छौँ । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन ।’ प्रचण्डले राष्ट्रिय निकुञ्जले माडीमा पुऱ्याएको असर, यस क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकाससम्बन्धी आफ्नो ध्यान रहेको बताए । माडीको पूर्वाधार विकास हुनेमा विश्वस्त हुन उनले आग्रह गरे ।
उनले माडी जाने बाटोमा पर्ने निकुञ्जमा आकाशेपुल बनाउन सरकार र पार्टीमा छलफल भइरहेकोसमेत बताए ।