जर्मन उत्पादकको कोरोना भाइरसविरुद्धको खोपको मानवीय परीक्षणका लागि चीनले दियो स्वीकृति

कोरोना भाइरसको संक्रमणले सारा विश्व त्रस्त छ । विश्वका सयौं औषधि कम्पनीहरु खोपको लागि रातदिन नभनि लागिरहेका छन् । खोपको मानवीय परिक्षण पनि विभिन्न देशमा भैरहेको छ ।

यसै सन्दर्भमा चीनले जर्मन उत्पादक बायोएन टेकले उत्पादन गरेको कोरोना भाइरसको सम्भावित खोपको प्रारम्भिक चरणको मानवीय परीक्षणका लागि स्वीकृति दिएको छ । जर्मन उत्पादकको सो सम्भावित खोपको परीक्षण चीनमा स्थानीय शाङ्घाइ फोसन फर्मास्युटिकल्सको नेतृत्वमा मानवीय परीक्षण हुने भएको बिहीबार जानकारी दिइएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।



बायोएनटेकले पीफिजर इन्कसँगको सहकार्यमा कोरोना भाइरसविरुद्धका दुई खोपमा काम गरिरहेको छ । सोही मध्येको एक खोपको मानवीय परीक्षणका लागि चीनले स्वीकृति दिएको हो । बायोएनटेकले बनाएको खोपको परीक्षणका लागि अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले यसै हप्ता ‘फास्ट ट्रयाक’ स्टाटस दिएको थियो ।

चीनले पनि मानवीय परीक्षणका लागि स्वीकृति दिएसँगै हालका लागि बिएनटि १६२ बि १ नाम गरेको खोपको परीक्षण सम्भव भएसम्म चाँडो सुरु गरिने फोसन फर्माले जनाएको छ । कोरोना भाइरसविरुद्धको खोप द्रूत गतिमा बनाउनका लागि विश्वभरका वैज्ञानिक तथा औषधिको क्षेत्रमा अनुसन्धान गर्ने संस्था तथा कम्पनीसहित सरकारहरु जुटेका छन् ।

अहिलेसम्म कम्तिमा २३ वटा सम्भावित खोपहरुको मानवीय परीक्षण सुरु भएको छ वा सुरु गर्ने तयारीमा पुगेका छन् । हालै अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोदेर्नाले नेशनल इन्स्टिच्यूड अफ हेल्थसँगको सहकार्यमा तयार पारेको सम्भावित खोपको मानवीय परीक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको थियो । सो खोपले मानिसको प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पारेको देखिएको र थप अनुसन्धान खाँचो रहेको बताइएको थियो ।

सम्बन्धित समाचार