नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ साउन ।
अमेरिकामा राजनीतिक तथा सामाजिक स्वतन्त्रताको पक्षमा भएका आन्दोलनमा नेतृत्व गरेका नागरिक अधिकारकर्मी तथा सांसद जोन लुइसको निधन भएको छ । उनको क्यान्सरका कारण ८० वर्षको उमेरमा निधन भएको हो । लुइस सिभिल राइट अभियानका शीर्ष ६ नेता मध्ये एक हुन्, जसमा मार्टिन लुथर किङ्ग जुनियर पनि पर्छन् ।
लुइसले वासिङ्गटनमा सन् १९६३ मा ऐतिहासिक प्रदर्शनका लागि सहयोग गरेका थिए । तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभको सदस्यका रुपमा उनले जर्जिया राज्यको राजधानी एट्लान्टाको अधिकांश भाग समेट्ने निर्वाचन क्षेत्रबाट डेमोक्र्याटिक पार्टीका तर्फबाट सन् १९८७ देखि प्रतिनिधित्व गर्दै आएका थिए ।
गएको डिसेम्बरमा उनले आफू प्यानक्रियाटिक क्यान्सरको चौथो चरणमा रहेको र उपचार भइरहेको बताएका थिए । उनले भनेका थिए, ‘म जहिले कुनै प्रकारको युद्धमा रहेँ–स्वतन्त्रता, समानता र आधारभूत मानवअधिकारका लागि झण्डै जीवनभर । तर अहिलेको जस्तो युद्धको सामना मैले कहिले गर्नु परेको थिएन ।’
सन् १९६३ मा वासिङ्गटनमा रोजगार र स्वतन्त्रताका लागि भएको प्रदर्शनमा मार्टिन लुथर किङ्गले ऐतिहासिक सम्बोधन गर्ने क्रममा उनी सो मार्चको नेतृत्वकर्तामा मध्ये एक थिए । सो मार्चमा लुइसले पनि सम्बोधन गरेका थिए । उनको निधनसँग सो मार्चमा सम्बोधन गर्ने कोही पनि अब जीवित छैनन् ।
अमेरिकी सदनकी सांसद न्यान्सी पेलोसीले आफ्नो वेबसाइट र सामाजिक सञ्जालमा व्यक्त पोस्ट गरेर लुइसको शुक्रबार निधन भएको पुष्टि गरेकी हुन् । पेलोसीले लुइसलाई नागरिक अधिकार अभियानका ‘टाइटन’ का रुपमा चित्रित गरेकी छन् ।