कोरोना परीक्षण अब ९० मिनेटमै

बेलायतले आगामी सातादेखि कोरोना भाइरस परीक्षणको नतिजा नमुना संकलन गरेको ९० मिनेटमै आउने विधि सञ्चालनमा ल्याउने भएको छ । उक्त विधि अस्पताल तथा केयरहोमहरूमा सुरु गरिने सरकारले जनाएको छ । हाल परीक्षणको एक चौथाइ नतिजा आउन कम्तीमा २४ घण्टासम्म लाग्ने गरेको छ ।

सरकारले आगामी सातादेखि अस्पताल तथा केयरहोमहरूमा झन्डै ५ लाख र्‍यापिड स्वाब टेस्ट उपलब्ध हुने जनाएको छ । यस वर्षको अन्त्यसम्म त्यस्ता किट अरू लाखौं बनाइने सरकारको भनाइ छ ।



बेलायत सरकारले त्यस्तो स्वाब र डीएनए परीक्षणबाट कोभिड–१९ र अन्य फ्लु जस्तो मौसमी रोग छुट्याउन सकिने विश्वास व्यक्त गरेको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले जाडोयाममा यो विधि निकै लाभदायक हुने बताएका छन् । सरकारी विज्ञप्तिमा उनले बेलायत सबैभन्दा इनोभेटिभ प्रविधि प्रयोग गरी कोभिडसँग जुध्न सक्षम भएको पनि बताए ।

संकलित नमुना प्रयोगशालामा पठाइरहन नपर्ने भएकाले नतिजा छिटो आउनेछ । अहिले अस्पतालहरूमा प्रायः १० मध्ये ९ वटा टेस्टको नतिजा आउन कम्तीमा २४ घण्टा लाग्छ । ड्राइभ थ्रु सेन्टरमा पोस्टल किट्स वा मोबाइल युनिटमार्फत गर्दा झन् समय लाग्ने गरेको छ किनकि त्यसलाई प्रक्रियाका लागि ल्याब पठाउनुपर्ने हुन्छ ।

सम्बन्धित समाचार