नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीचको सम्बन्ध दिदीबहिनी र दाजुभाइको जस्तो भएको उल्लेख गरेकी छन्। बिहीबार एक ट्विट गर्दै राजदूत यान्छीले नेपाल र चीनबीचको सम्बन्ध छिमेकी र मित्रवत् मात्र भएर दिदीबहिनी र दाजुभाइको जस्तो भएको बताएकी हुन्।
नेपालमा चीनले प्रदान गरेको सहयोगका तस्बिर राख्दै उनले उस्तो ट्विट गरेकी हुन्। उनले भूकम्प, बाढीपहिरो, इन्धन अभाव र कोरोना भाइरसको महामारीसँग लड्नका लागि चीनले नेपाललाई सहयोग गरेको स्मरण गरेकी छन्।
नेपालका हरसंकटमा चीनले सहयोग गरेको उनको भनाइ छ। कोरोना भाइरसविरुद्धको लडाइँमा पनि नेपाल र चीनबीचको मित्रताको परीक्षण भएको समेत उल्लेख गरेकी छन्।
‘चीन र नेपालबीच छिमेकी र मैत्रीपूर्ण सम्बन्ध मात्र छैन, दिदीबहिनी र दाजुभाइको जस्तो सम्बन्ध छ। भूकम्प, बाढीपहिरो, इन्धन संकट र कोरोनाको महामारी नै किन नहोस्, हामी सँधै दुःख बाँढ्छौं। यसपटक हामीबीचको मित्रता नकाप्ने गरी परीक्षण भएको छ,’ उनले ट्विटमा लेखेकी छन्।