पूर्व राष्ट्रिय क्रिकेटरलाई पनि कोरोना संक्रमण

पूर्व राष्ट्रिय क्रिकेटर पवन दासलाई कोरोना संक्रमण पुष्टी भएको छ । सामाजिक सञ्जालमार्फत दास आफैँले आफूलाई संक्रमण भएको पुष्टी गरेका हुन् । उमेर समूहमा राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका उनी पछिल्लो समय गृहजिल्ला सप्तरीमा छन् । उनले पछिल्लो समय स्थानीय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् ।

‘कोरोना पोजेटिभ आएको रहेछ । म सँग १५ गतेपछि सम्पर्कमा आउन हुनेहरु कृपया सुरक्षित रहनुहोला । अरुलाई पनि सुरक्षित राख्नुहोला ।’ दासले फेसबुकमा लेखेका छन् । सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठका अनुसार उनीँसँगै उनका बुवाआमालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ ।



‘हिजो पुष्टी भएको हो सगरमाथा अञ्चल अस्पतालमा । एउटा प्रोजेक्टबाट कुनै कार्यक्रममा बर्दिबास जानुभएको रहेछ । त्यहीँ गएका अरु साथीहरुलाई कोरोना देखिएपछि उहाँको पनि परीक्षण गराउँदा पोजेटिभ आएछ,’ अध्यक्ष श्रेष्ठले भने, ‘सँगसँगै उहाँको बुवाआमाको पनि रिपोर्ट पोजेटिभ आएको रहेछ । बच्चा र श्रीमतीको हिजो स्वाव लिएको छ आज रिपोर्ट आउला ।’

दासले पछिल्लो संस्करणको सप्तरी प्रिमियर लिग खेलेका थिए भने यू १५ र यू १७ मा राष्ट्रिय टीमबाट खेलिसकेका छन् ।

सम्बन्धित समाचार