त्रिविमा कार्यरत आंशिक प्राध्यापकद्वारा आंगिक क्याम्पसमा तालाबन्दी

त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरु फेरि आन्दोलित भएका छन् । आफ्ना माग पूरा नभएपछि उनीहरु फेरि आन्दोलित भएका हुन् । लामो समयदेखि पढाइरहेकालाई करारमा नियुक्त गर्नुपर्ने उनीहरुको माग छ ।

आन्दोलनस्वरुप नेपाल आंशिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभाग र देशभरका आंगिक क्याम्पसमा तालाबन्दी गर्न निर्देशन दिएको छ । आइतबार देशका केही क्याम्पसमा तालाबन्दी पनि भएको छ ।



संघका अध्यक्ष विष्णुप्रसाद चापागाईंका अनुसार माग सुनुवाइ नभएपछि ताला लगाउनुपरेको बताए । आंशिक प्राध्यापकहरुले फागुनदेखि पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन् । माग पूरा नभए दुई दिनपछि क्याम्पसका कक्षा र लेखाशाखामा पनि ताला लगाउने धवलागिरि क्याम्पसका प्राध्यापक संघका सचिव सरोजराज पन्तले बताए ।

झन्डै चार वर्षअघि सरकारले एक वर्ष आंशिक शिक्षण गरेकालाई करार नियुक्ति दिनुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि त्रिभुवन विश्वविद्यालय कार्यकारी सभाले गठन गरेको कार्यदलले समयमा प्रतिवेदन नबुझाएपछि आंशिक प्राध्यापक फेरि आन्दोलित भएका हुन् ।

सम्बन्धित समाचार