नवकान्तिपुर संवाददाता
काठमाडौं, १ भदौ ।
बायर्न म्युनिखसँग ८-२ गोलको लज्जास्पद पराजयपछि बार्सिलोनाले प्रशिक्षक किके सेतियनलाई बर्खास्त गर्ने तयारी गरेको छ । बार्साले सोमबार सेतियनलाई बर्खास्त गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले उल्लेख गरेका छन् ।
गत जनवरीमा मात्र सेतियन बार्सिलोना भित्रिएका थिए । त्यसअघि उनी स्पेनिस क्लब रियल बेटिसमा सन् २०१७ देखि २०१९ सम्म प्रशिक्षक रहेका थिए । तीन वर्षदेखि क्लबको प्रशिक्षक एर्नेस्तो भेल्भार्देलाई हटाएर बार्सिलोनाले सेतियनलाई भित्र्याएको थियो । तर यो सिजन बार्सिलोनाका लागि निराशाजनक रह्यो। घरेलु लिगमा उपाधि मुखमा रहेर पनि पछिल्ला खेलहरुमा खराब प्रदर्शनपछि उपविजेतामा सीमित बन्यो भने च्याम्पियन्स लिग फुटबलमा सन् १९६२ यताकै फराकिलो हार ब्यहोर्यो ।
बार्सिलोनाले सन् १९४९ यता कुनैपनि खेलमा ८ गोल ब्यहोरेको थिएन । बार्सिलोनाले सन् २०१५ यता च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । यसबीचका पाँच च्याम्पियन्स लिग सिजनमध्ये चारवटामा क्वार्टरफाइनलबाटै बाहिरिएको छ। बार्साले अघिल्ला लगातार दुई ला लिगा जितेको थियो ।
क्लबको खराब प्रदर्शनपछि मेस्सीले बार्सिलोना छाड्ने मनासय व्यक्त गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । क्लबका वर्तमान अध्यक्ष जोसेप बार्तोमेउ र प्रशिक्षक सेतियन दुवैविरुद्ध मेस्सी असन्तुष्ट रहेको जनाइएको छ । आगामी सिजनको समाप्तीमा बार्सासँग मेस्सीको करार सकिँदै छ। ६ पटकका फिफा वर्ष खेलाडी मेस्सीले यो सिजन च्याम्पियन्स लिगमा केवल ३ गोल गरेका छन् भने घरेलु लिगमा २५ गोल गरेर गोल्डेन बुट जितेका छन् । यद्यपी बार्सिलोना सन् २०१३ यता पहिलोपटक सिजनभर कुनै उपाधि जित्न सकेन ।
बार्सिलोनाको एकेडेमी उत्पादन मेस्सीले सन् २००४ मा ला लिगामा डेब्यु गरेका थिए । यसबीचमा क्लबले जितेका १० ला लिगा उपाधि, चार च्याम्पियन्स लिग उपाधि, तीन क्लब विश्वकप उपाधि, ६ कोपा डेल रे उपाधि, सात स्पेनिस सुपर कप र तीन यूईएफए सुपर कप उपाधिमा मेस्सीको महत्वपूर्ण योगदान रहेको थियो ।
३३ वर्षीय मेस्सी ६ पटक युरोपियन गोल्डेन बुट, सात पटक ला लिगा बेस्ट फर्वार्ड र ६ पटक ला लिगा प्लेयर अफ दी सिजन भएका छन् । खेलाडी जिवन बार्सिलोनामै बिताउने अनुमान गरिएका मेस्सीको पछिल्लो अभिव्यक्तिले बार्साका पदाधिकारीमाथि दबाब बढेको उल्लेख गरिएको छ । बायर्नविरुद्धको लज्जास्पद हारमा मेस्सीले एक गोल पनि गर्न सकेका थिएनन् ।
बार्सिलोनाको नयाँ प्रशिक्षकको चर्चामा क्लबकै पूर्व मिडफिल्डर जाबी, नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोएम्यान, टोट्टनहामका पूर्व प्रशिक्षक माउरिसिओ पोकेतिनोलगायतको चर्चा छ ।