नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ भदौ ।
अमेरिकाको राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट औपचारिक रुपमा उम्मेदवारी पाएका जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अन्धकार ल्याएको आरोप लगाएका छन् । डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनको चौथो दिन नेपाली समय अनुसार शुक्रबार बिहान आफ्नो सम्बोधनको क्रममा जो बाइडेनले अबको चुनाव अन्धकार अन्त्यका लागि रहेको बताएका हुन् ।
पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले राष्ट्रपति ट्रम्पले अमेरिकामा अति धेरै आक्रोश, त्रास र विभाजन निम्त्याएको बताए । अति भावनात्मक सम्बोधनको क्रममा बाइडेनले आफ्नो आधा शताब्दी लामो राजनीतिक जीवनका अनुभवलाई समेट्न सफल भए ।
७७ वर्षका बाइडेन स्पष्ट रुपमा आम चुनावको अभियानमा जुटेको देखिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । नोभेम्बर ३ मा हुने चुनावमा बाइडेनले ७४ वर्षका रिपब्लिकन राष्ट्रपति ट्रम्पको सामना गर्ने छन् ।
पछिल्लो झण्डै चार वर्षमा अमेरिकाले इतिहासमा सबैभन्दा खराब समय र अधन्कारको सामना गरेको बताउँदै बाइडेनले आफू अँध्यारोको नभई उज्यालोको सारथी वा पक्षपाती रहेको बताए । अहिलेको समय सबै एकतावद्ध हुने रहेको र कुनै पनि गल्ति गर्ने छुट नरहेको उनले उल्लेख गरेका छन् ।
आउँदो चुनावमा मतपत्रमा चरित्रको परीक्षा हुने उनले बताए । उनले डरको सट्टा आश, फिक्सनको साटो तथ्य र विशेषाधिकारको ठाउँमा निष्पक्षता रोज्न अपिल गरे । अबको चुनावले अन्धकारको चरण अन्त्य गर्ने उनले बताए ।