नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ भदौ ।
इजराइलको प्रहरीले दक्षिण शहर एलाटको एक होटलमा १६ वर्षीया एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनाको अनुसन्धान सुरु गरेको छ ।
घटनामा संलग्न रहेको आरोमा अहिलेसम्म दुई व्यक्तिलाई हिरासतमा लिइएको छ तर उनीहरुले आफूमाथि लागेको बलातकारको आरोप अस्वीकार गरेका छन् ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार किशोरीमाथि ३० भन्दा बढीले यौन सम्बन्ध स्थापित गरेका थिए । तर पक्राउ परेकाहरुले आरोप स्वीकारेका छन् । १६ वर्षीया ती किशोरीलाई नशा दिएर बेहोस बनाएपछि बलात्कार गरिएको आरोप लागेको छ ।
अहिले इजराइलमा यो सामूहिक बलात्कार चर्चाको विषय बनेको छ । इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले घटनाका दोषीहरुलाई कारबाही गर्ने बताएका छन् । ‘यो निकै नै अचम्मित घटना हो । यसका लागि कुनै शब्द छैनन् । यो मात्र ती किशोरीमाथिको अपराध होइन मानवताविरुद्धकै अपराध हो यसको चौतर्फी निन्दा हुनुपर्छ’, उनले ट्विट गरेका छन् ।
गत शुक्रबार किशोरीले आफूमाथि भएको अपराधबारे प्रहरीमा ऊजुरी दर्ता गराएकी थिइन् । प्राप्त समाचार अनुसार यो महिनाको सुरुमा ती युवती आफ्ना साथीसँग एलात गएकी थिइन् । त्यहाँ उनले आफ्ना साथीले चिनेका मानिसहरुलाई भेटिन् । उनीहरु सबैजना सँगै ड्रिङ्क्सका लागि बाहिर गए र पुनः होटल फर्किए ।
होटलबाट फर्किएपछि सबैले पटक–पटक ती किशोरीमाथि बलात्कार गरे। युवतीका साथीले उनलाई बचाउन कोसिस गरे पनि सफल भएनन् । प्रहरीले पक्राउ परेका दुई आरोपीलाई सार्वजनिक गरेको छैन। घटनामा संलग्नहरु सबै इजराइली नै रहेको र उमेर २० वर्ष आसपास रहेको बताइएको छ ।
टाइम्स अफ इजराइलका अनुसार प्रहरीले एक संदिग्ध र किशोरीबीच भएको मेसेजिङमा युवतीमाथि कथित ज्यादतीको भिडियो फेला परेको छ । त्यसपछि पक्राउ परेका उनले घटनामा ३० जना भन्दा धेरैको संलग्नता रहेको बताएका हुन् ।
तर उनले ती किशोरीसँग कुनै प्रकारको मेसेजिङ नगरेको बताएका छन् । आफ्नो फोनको कसैले दुरुपयोग गरेको उनले दाबी गरेका छन् ।